ललितपुर –वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो।
दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गरेका हुन ।
विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो।

राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन।
कार्यक्रममा मन्त्री डा. खतिवडाले सत्यमोहन जिवित सम्पदा भएको बताए। उनले भने, “सय वर्ष पुगेपछि सम्पदाको रुपमा लिइन्छ, त्यसैले सत्यमोहन जिवित सम्पदा हुन् । जिवित इतिहास हुन् ।
मन्त्री डा. खतिवडाले राष्ट्र बैंकको नोट तथा सिक्का निस्कासनमा संस्कृतिविद् जोशीले लामो समयसम्म योगदान पुर्याउनुभएको चर्चा गर्दै त्यसको सम्मान स्वरुप पनि सिक्का निस्कासन भएको बताए ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो।
‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहेका निरौलाले भने– ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ।’