काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । ‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।”
तोकिएको ठाउँमा नजाने कर्मचारीले तलब, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तिको बाटो सुरु हुने बताएका छन । नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनले बताएका हुन । ‘धेरै युवा विदेशमा पसिना चुहाइरहेका छन्,’ मन्त्री पण्डितले भने, “लाखौं युवाहरु बेरोजगार छन्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको परिवारमा खुशियाली दिनका लागि संघीय सरकार अघि बढिरहेको छ ।”