काठमाडौं । बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ परेका चर्चित सेफ Santosh Shah साधारण तारेखमा रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार साहलाई सोमबार साधारण तारेखमा रिहा गरिएको हो। उनी गत शनिबार जनकपुरबाट पक्राउ परेका थिए।
साहविरुद्ध सकुन्तला अधिकारी (थापा) ले होटल खरिदको नाममा रकम लिएर फिर्ता नगरेको आरोपसहित उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
यसैबीच, साह बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन्। काठमाडौं जिल्ला अदालतले गत जेठ ३० गते उनलाई २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना तथा एक महिनाको कैद सजाय सुनाएको थियो।
यद्यपि उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी अवधि बाँकी रहेकाले तत्काल कार्यान्वयन नगरी साधारण तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ।
साहमाथि दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया भने अझै जारी रहेको छ।