२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

वडाध्यक्षले बेचिदिए झोलुङ्गे पुल

1345 Shares
Spread the love

विदुर– नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको ५५ वर्षा पुरानो झोलुङ्गे पुल आफूखुशी बेचेका आरोप लागेको छ ।

विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लागेको हो ।

२०२१ सालमा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका वासिन्दा दुखित बनेका छन् ।

कबाडीलाई शुरुमा ३ लाखमा बेच्ने हल्ला भएको र पछि ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । चित्रकार भन्छन्, ‘पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’

बेलकोटगढी–८ का वडाध्यक्ष पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र ३५ हजार भने विदुर–५ का वडाध्यक्षले ‘तपाईँको भाग’ भनेर पठाएको जानकारी दिए । उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको पनि बताए ।

त्यस्तै विदुर–५ का वडाध्यक्ष शिवकुमारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे । ‘गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचेका हौँ,’ उनले भने, ‘कबाडीलाई रु ७० हजारमा बेची रु ३५–३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ ।’

यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ । विदुर नगरपालिका प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।

प्रतिक्रिया