
काठमाडौं – उपचारका लागि सिंगापुरमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पार्टी उपाध्यक्ष बामदेव गौतम तथा महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । उनीहरू मंगलबार सिंगापुर जाने नेकपाका एक नेताले जानकारी दिए ।
गत ५ भदौमा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाट छैठौं चरणको उपचार सम्पन्न भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको हो । यस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गरिन्छ । सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।
बुधबार प्रधानमन्त्री ओलीको सातौं चरणको उपचार प्रक्रिया पूरा हुनेछ । उपचार प्रक्रिया सकिएपछि उनी स्वदेश फर्किने मिति तय हुने स्रोतले जानकारी दिएको छ । ।