२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

भरतपुरमा गोली चल्यो, प्रहरी र आन्दोलनकारीबीच झडप

1841 Shares

भरतपुर । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् ।

जर्वजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले जानकारी दिए । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

केही आन्दोलनकारीहरुलाई पक्राउसमेत गरिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेपनि राजमार्गमा गुड्न पाउनुपर्ने मजदुरहरुको अडान छ । महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया