२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

समय अगावै विमानस्थलको काम सकेपछि चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउन पर्छ : मन्त्री भट्टराई

1013 Shares

पोखरा – पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ्न् । विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे पनि उनले जानकारी लिए ।

विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना लगायतको काम सम्पन्न भएको जानकारी दिए । जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

केही क्षेत्रमा कडा चट्टान फेला परेकोले ब्रेकर र बिस्फोटक पदार्थ प्रयोग गरी काम गरिएको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए । ‘रन वे’ निर्माणको काम वैशाख पहिलो सातामा मै सम्पन्न भएको थियो ।

२ हजार ५ सय मिटर लम्बाई, ४५ मिटर चौडाइ भएको ‘रन वे’ को सिमेन्टेड ढलान ३४ सेन्टिमिटरको रहेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम यहिस्तरमा भइरहे सम्झौता समयको ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना पक्षले मन्त्री समक्ष जानकारी दिएको छ ।

विमानस्थलमा बन्ने १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बन्न लागेको हो। अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमतासहित टर्मिनल भवन निर्माण हुने छ ।

सरकारले विमानस्थल निर्माणका लागि सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो।

विमानस्थल अन्तर्राष्ट्रिय उड्यन संस्था (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान भर्नेछन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पोखरा झर्ने विमानको लागि भारतसँग सम्झौता भइसकेको जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी सिएमसिईसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गरी विमानस्थल हस्तान्तरण गर्नुपर्ने छ ।

सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु गरिएको हो। विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते गरेका थिए।

पोखरा विमानस्थल तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने मन्त्री भट्टराईले बताए ।

‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले भने, ‘म पोखरा महानगरलाई पनि आग्रह गर्छु । चिनियाँ कम्पनीले समय अगावै विमानस्थलको काम सके पछि रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ ।’

चिनियाँ कम्पनीले प्रतिष्ठा स्वरुप राम्रो गरिरहेकोले सरकारको तर्फबाट धन्यबाद दिए । आयोजना निर्माणको क्रममा अन्य ठाउँमा जस्तो यहाँ दुःख भोग्नु नपरेको उनले बताए ।

दीर्घकालीन समस्याहरुमा भने यहीँ सिर्जना गर्ने अवसरले सुखद स्थिति ल्याउने उनको भनाई थियो । सडक, सिंचाइका विषय हामी सङ सम्बन्धी नभए पनि अन्तर मन्त्रालयको बैठकमा सम्बोधनका लागि उठाइने जानकारी दिए ।

आयोजना पक्षले मात्र चाहेर नहुने उनले बताए । सबैले सहयोग गर्न उनको आग्रह छ । ‘मुआब्जाबारे बसेर सहमति गरौँ’ उनले भने, ‘प्रभावित बासिन्दाहरुलाई पहिलो प्राथमिकतामा राख्छौँ । रोजगारदेखि अन्य अवसर छ्न् ।’

सिमराबाट इन्ट्री पोइन्टको लागि सम्झौता भएको र नेपालगन्ज र कंचनपुरबाट पनि इन्ट्रीका लागि प्रक्रिया अघि बढाइएको मन्त्री भट्टराईले सुनाए ।

प्रतिक्रिया