
चितवन – टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन । आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएपछि मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले पत्रकारितासँगै राजनीति पनि विकल्प हुन सक्ने बताए ।
तर अहिले आफूले पत्रकारिताबाटै देश र जनताका लागि खरो रुपमा काम गर्ने उनको भनाई थियो ।
‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन’, लामिछानेले भने ‘केही लागेन भने राजनीति विकल्प बन्न सक्छ, तर मैले आज जानेको चिज राजनीति होइन, सञ्चारकर्मबाटै खबरदारी गर्न चाहन्छु ।’
‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’
उनले भने, ‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्नालागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन । सिक्नुपर्ला, तर मैले आज जानेको चिज राजनीति होइन ।’
हिरासतको बसाइ नयाँ अनुभव
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए ।
हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने पनि बताए ।