काठमाडौँ । चिकत्सा शिक्षा सुधारको माग गर्दै २५ दिन देखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले सामूहिक अनशन सुरु गरेका छन्।
नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा उनीहरू मंगलबार बिहान १० बजेदेखि अनशनमा बसेका हुन्।
डा. केसीका माग सम्बोधन नभएसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनशन जारी रहने नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनले जनाएको छ।
यस्तै वसन्तपुरको डबलीमा पनि चिकित्सकहरू रिले अनशनमा बसेका छन्। दुवै ठाउँमा सयभन्दा माथिको संख्यामा चिकित्सक अनशनमा रहेका नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए।
यस्तै वीर अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पनि अनशनमा बसेका छन्।
यसैगरी देशका जिल्ला जिल्लामा पनि चिकित्सकहरू आ-आफ्नो अनुकूलताअनुसार अनशन बस्ने कार्यक्रम रहेको चिकित्सक संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
डा.केसीको माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आज देशभरका स्वास्थ्य संस्थाका चिकित्सकले ओपिडी सेवा बन्द गराएका छन्।