२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

खेलाडी बसेका होटेलको कोठा–कोठामा पुग्थे दीपेन्द्र, र भन्थे -‘ल है भाइ, देशको नाम राख्नुपर्छ’

1237 Shares

दिवानी दीपेन्द्रसँग विवाह गर्न अत्यन्त लालयित थिइन् । त्यसका निम्ति दीपेन्द्रलाई त उनले काबुमा लिएर तयार गरेकै थिइन्, परिवारका सदस्यहरूलाई मनाउने सफलता भने उनलाई मिल्न सकेन ।

सचिवालयका कर्मचारी र अङ्गरक्षकहरूलाई आर्थिक सहयोग गरेर दिवानीले प्रभावमा पारेकी थिइन् । समय–समयमा दिवानीले दीपेन्द्रको सचिवालयका कर्मचारी तथा अङ्गरक्षकहरूलाई उपहार पनि दिने गर्थिन् ।दीपेन्द्रको वरिपरि दिवानीले यस्तो घेरा निर्माण गरेकी थिइन्, जहाँबाट दीपेन्द्र उम्कन सम्भव नै थिएन ।

दीपेन्द्रका हरेक गतिविधिको सूचना दिवानीकहाँ निरन्तर पुगिरहन्थ्यो । आफू चन्द्रशमशेर खलकको सन्तान भएकीले विवाह गर्न अस्वीकार्य भएको सुन्नुपर्दा उनी दुःखी र क्रूद्ध बन्थिन् र बारम्बार दीपेन्द्रलाई प्रश्न गर्थिन्, ‘गोरखशमशेर पनि चन्द्रशमशेरपट्टिकै हुन् । छोरी (श्रुति) को विवाह चन्द्रशमशेरको खलकभित्र हुनसक्छ भने म किन मान्य हुन सक्दिनँ ?’

दीपेन्द्र कुनै पनि तरिकाले दिवानीसँग विवाह गर्न चाहन्थे भन्ने तथ्य सबैको जानकारीमा छ, तर उनले ०५८ जेठ २० गते नागार्जुनमा विवाह गर्ने कार्यक्रम तय गरेको जानकारी भने सार्वजनिक हुन सकेको थिएन ।

जेठ २० गते शनिबार नागार्जुन पुगेर दिवानीसँग विवाह गर्न पुरोहितसमेत तय गरिसकेको जानकारी त्यसबेला दीपेन्द्रको सचिवालयमा कार्यरत खास–खास कर्मचारीलाई थियो । सौजन्यकुमार सुल्प्या जोशी यस कुराको जानकारी पाउनेहरूमध्ये एक हुन् ।

दिवानीसँग दीपेन्द्र लन्डनमा ‘ए’ लेभल अध्ययन गर्ने समयमै सम्पर्कमा आएका थिए । बेलायतमा दीपेन्द्र र दिवानीको स्थानीय अभिभावक एकै व्यक्ति थिए । सन् १९९६ मा अमेरिकाको एटलान्टामा ओलम्पिक खेल हुँदा दीपेन्द्र पनि रुक्मशमशेर राणासँगै त्यहाँ पुगेका थिए । सो अवसरमा दिवानीले पनि अमेरिका आउने वचन दिएकी थिइन् तर उनी पुगिनन् ।

दिवानीको अनुपस्थितिका कारण दीपेन्द्र निकै खिन्न बनेको महसुस त्यहाँ उपस्थितहरूले गरेका थिए । त्यसबेला नेपाली टोलीमा रहेका केही व्यक्तिहरूसँग दीपेन्द्रले आफू पाइलट बन्ने र दिवानीसँग विवाह गरी बाहिरी मुलुकमै बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए ।

सन् २००० मा अष्ट्रेलियामा सम्पन्न ओलम्पिक खेल हेर्न युवराज दीपेन्द्र पनि पुगेका थिए । दीपेन्द्रको उपस्थितिले खेलाडीहरूको उत्साह निकै बढाएको महसुस गरिएको थियो । युवराज दीपेन्द्र खेलाडी बसेका होटेलको कोठा–कोठामा पुग्थे र भन्थे, ‘ल है भाइ, देशको नाम राख्नुपर्छ, तिमीमाथि ठूलो भरोसा छ ।’

सकेसम्म खाना पनि खेलाडीहरूसँगै खान चाहन्थे । खानाको समयमा ठट्टा–मजाक गरेर सबैलाई हँसाउँथे र खेलमा विजय प्राप्तिको निम्ति प्रोत्साहन पनि दिन्थे ।
यसरी अरूलाई हँसाउने दीपेन्द्र एक्लै हुँदा भने निकै दुःखी र भावुक बन्थे । बारम्बार कसैलाई फोन गरिरहन्थे र ‘आउने होइन भनेको’ भनिरहन्थे । आउनुपर्ने ती को थिए त्यसको जानकारी कसैलाई थिएन । तर, ‘ती कोही’ नआएका कारण युवराजको बेचैनी बढेको थियो, यसको महसुसचाहिँ धेरैले गरेका थिए ।

ओलम्पिक टोली अष्ट्रेलिया पुगेको पाँच दिनपछि दीपेन्द्र बसेको होटेलमा अचानक दिवानी देखापरिन् । उनलाई रिसेप्सनमै आएर दीपेन्द्रले स्वागत गरेका थिए । दिवानी आफ्ना निम्ति बुक गरिएको कोठामा बसिन् । तर, त्यसपछिका दिनमा दीपेन्द्रको खेलाडीहरूका बीचमा देखिने क्रम घट्यो र उनको बेचैनी पनि हटेको महसुस गर्न सकिन्थ्यो ।एक महिना लामो ओलम्पिक खेलका क्रममा दीपेन्द्रले पूरै समय अष्ट्रेलियामा बिताए । दिवानीले भने खेल सकिनुभन्दा तीन दिन अघि नै अष्ट्रेलिया छोडेकी थिइन् ।

श्री ५ महाराजाधिराजको एक समयका अङ्गरक्षकहरू तारा र शान्तकुमारबीच सम्बन्ध राम्रो थिएन । राजाको नजिक बनेर शक्ति अभ्यास गर्ने प्रतिस्पर्धाले उनीहरूलाई एक–अर्काको ‘दुश्मन’ बनाएको थियो ।

श्री ५ मुमा बडामहारानी रत्नको रङ्गरक्षक थिए– प्रदीप । प्रदीपकी छोरी प्रिया सेन्टमेरिज स्कुलमा पढ्थिन् र बेलाबेलामा आफ्ना पितालाई भेट्न नारायणहिटी दरबार जाने गर्थिन् । यसरी दरबार जाने क्रममा विद्यालय पढ्दै गरेका युवराज दीपेन्द्रसँग उनको बारम्बार भेट हुन थाल्यो । उनीहरू निकै नजिकका बालसखा बने जुन पछि गएर पे्रममा परिणत भयो, सोह्र वर्ष पुग्दानपुग्दै उनीहरूले एक–अर्कोबिना बाँच्नै नसक्ने अवस्था महसुस गर्न थालेका थिए । यसैक्रममा दीपेन्द्रले आफ्नो पाखुरामै प्रिया नामको टाटु बनाएका थिए ।

मुमा बडामहारानी रत्न भावी महारानी आफूले चाहेको व्यक्ति बन्नुपर्छ भन्ने सोचाइमा थिइन् र उनको चाहना प्रदीपपुत्री प्रिया नै थिइन् । रत्न र प्रदीपको योजनामुताबिक युवराज दीपेन्द्र र प्रियाबीच नियमित भेटको चाँजोपाँचो मिलाइएको थियो । दुईबीचको पे्रमबाट मुमा बडामहारानी रत्न सर्वाधिक खुसी थिइन् । यसरी प्रियासँग दीपेन्द्रको विवाह हुने सम्भावना बढ्दै गएपछि दरबारभित्र त्यसको व्यापक चर्चा हुन थाल्यो । प्रियासँग दीपेन्द्रको निकटता बढेको शाही अङ्गरक्षक तारालाई भने पटक्कै मन परिरहेको थिएन । भविष्यमा प्रिया महारानी बन्नु भनेको दरबारमा शान्तकुमारको चकचकी बढ्नु हो भन्ने ताराको ठम्याइ थियो । त्यसैले कुनै पनि हालतमा प्रियासँगको विवाहमा अवरोध सिर्जना गर्नुपर्छ भन्ने योजनाबद्ध प्रयासमा ताराबहादुर थिए ।

ताराको घर राणाको घरनजिकै थियो । राणाकी छोरी दिवानी ताराको काखैमा हुर्केकी थिइन् र उनी दिवानीलाई छोरी नै भन्ने गर्थे । प्रियाभन्दा धेरै सुन्दरी देखिने दिवानीसँग कुनै तरिकाले दीपेन्द्रको बनिबनाउ निकटतालाई बढाइदिन सके परिस्थितिले कोल्टे फेर्थ्यो कि भन्ने आशा तारामा पलाएको थियो । त्यसो त स्वयम् राणासँग पनि उनले दिवानीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउनुपऱ्यो भन्ने गर्थे । राणालाई पनि आफू राजाको सम्धी बन्ने इच्छा नभएको होइन, तर प्रियासँग दीपेन्द्रको सम्बन्धबारे राणालाई जानकारी थियो र उनी तारासँग भन्ने गर्थे, ‘होइन तारा, युवराजको त प्रियासँग पे्रम छ र विवाह उसैसँग हुँदै छ भनेको होइन र ?!’

‘हो राजा, तर स्थिति बदल्न पनि त सकिन्छ । स्वयम् महाराजाधिराज पनि अरू कसैसँगै प्रेममा होइबक्सन्थ्यो र कुनै पनि हालतमा चाँद नामकी ती महिलासँग विवाह गर्ने सोचमा होइबक्सन्थ्यो । तर, परिस्थिति यसरी परिवर्तन भयो कि महाराजाधिराज ऐश्वर्य सरकारसँग विवाह गर्न बाध्य होइबक्स्यो । पहिलेकी प्रेमिकासँग प्रेम टुटेको पनि थिएन, बडामहारानीलाई महाराजाधिराजले आफ्नी पूर्वप्रेमिकाको नामसँग मिल्ने गरी ‘चाँदनी’ दिइबक्सेको थियो र सोही नाममा बोलाइबक्सन्थ्यो । यसबाट पनि पुष्टि हुन्छ कि राजपरिवारमा जोसँग प्रेम भयो उहीसँग विवाह हुन्छ भन्ने छैन,’ ताराले भनेका थिए ।‘त्यसो भए के गर्ने त ?’ राणाजीले प्रश्न गरे ।‘जे–जसो गर्नुपर्ने हो मै गर्छु, हजुर साथ मात्र दिइबक्स्योस्,’ ताराले राणाजीलाई आश्वस्त पार्दै भने ।राणाजी पत्नीसँग डराउँथे ।

पत्नीको स्वीकृतिबेगर उनले केही गर्न सक्थे भने त्यो एउटै काम थियो, बाथरुम जाने ।
छोरीको विवाहजस्तो कुरामा पत्नीको सहमति अनिवार्य हुनैपर्ने ठान्थे राणाजी । त्यसैले ताराको कानैमा मुख जोडेर दायाँबायाँ आँखा घुमाउँदै उनले भने, ‘अनि हाम्री घरकी महारानीलाई पनि सहमत गराउनुपऱ्यो नि ।’‘ए त्यो सब म गरिहाल्छु नि, हजुर ढुक्क होइबक्स्योस्,’ ताराले विश्वास दिलाउँदै भने ।

राणाजीलाई विश्वासमा लिएको केही दिनपछि ताराले महाराजगञ्जस्थित आफ्नो निवासस्थानमा एक रात्रिभोजको आयोजना गरे । रात्रिभोजमा युवराज दीपेन्द्र, केही उनका साथी, राणाजीकी छोरी दिवानी र ताराका आफ्नै केही विश्वासप्राप्तहरूलाई आमन्त्रण गरिएको थियो । बेलुका ६ बजे सुरु भएको रात्रिभोजमा सहभागी हुन दिवानी पूरै लाल वस्त्रमा सजिएर पुगेकी थिइन् । ‘रातो सेट’मा रहेकी दिवानी बत्तीको प्रकाशमा चन्द्रमाजस्तै धपक्क बलिरहेकी थिइन् । दीपेन्द्रको आँखा दिवानीमाथि के परेको थियो त्यसपछि अन्त कतै सर्दै सरेन । कुराकानी अरू कसैसँग भइरहेको हुन्थ्यो, युवराजको आँखा भने दिवानी भएतिर मात्र स्थिर ।

यसरी हेरिरहेका युवराजको आँखासँग घरिघरि दिवानीको नयन परस्पर हुन्थ्यो । दिवानीले दीपेन्द्रतिर आँखा सार्दा आफ्नो हृदयमा कसैले तीर चलाएझैँ झट्का महसुस गर्थे दीपेन्द्र । त्यसपछि ‘हाउ आर यू ? भन्दै दीपेन्द्र दिवानी समीप पुगे र उनको प्रशंसा गर्न थाले । दिवानी लजाइन् र भुइँतिर हेर्दै अंग्रेजीमा ‘धन्यवाद’ भनिन् ।

ज्यादा आक्रामक देखिनु उचित ठानेनन् दीपेन्द्रले, ‘विल सी अगेन’ भन्दै दिवानीबाट केही टाढा पुगे । राति १२ बजेसम्म भोज चलिरह्यो, मौका मिल्नासाथ दीपेन्द्र र दिवानी एक–अर्कालाई नयनवाण चलाउन चुक्दैनथे । १२ बज्नै लाग्दा दीपेन्द्रले तारालाई यसो कुनातिर लगेर केही भने र त्यसपछि सबैसँग बिदा भएर दीपेन्द्र बाहिरिए । दीपेन्द्र बाहिरिँदै गर्दा दिवानीको अनुहार उनी आफैँले थाहै नपाई यसरी मलीन हुन पुग्यो कि जसरी बादलले ढाक्दा चन्द्रमाको मुहार अँध्यारिन्छ । दीपेन्द्रले पनि आँखैआँखाले दिवानीसँग विशेष बिदा मागेको त्यहाँ उपस्थित सबैले बुझेका थिए । (क्रमशः)

(अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश-८ घटना र विचारबाट लिईएको)

प्रतिक्रिया