जनकपुर – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । उनले समझदारीको आशय भने खुलाएनन् ।
‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन,’ सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै नेकपाका अध्यक्ष दाहालले भने, ‘सरकार पनि ५ वर्ष जान्छ। ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ।’
धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर आएका हुन्।
‘सरकारको पहिलो कानुनी जटिलता थियो। छिट–छिटो विकास होस् भन्ने जनताको चाहना थियो,’ दाहालले भने, ‘सरकारले पहिलो वर्ष यी सबै आधार बनाएको छ। अब सरकार अगाडि बढ्छ।’
उनले समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने बताए। ‘पार्टी एकतामा धेरै भ्रम छर्न खोजियो। तर हामीले पार्टी एकता टुंग्यिाएका छौं,’ दाहालले भने।
‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनाईको अपव्याख्या गरिएको बताउँदै अध्यक्ष दाहालले भने, ‘मैले त्यसो भनेकै होइन। पार्टी एकता गरिसकेका हौं। अब विकल्प छैन भनेको हो। मिडियामा अपब्याख्या गरियो।’
आफूले बोलेको त्यो कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि उपस्थित रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाए।
‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो। जुन गलत हो,’ दाहालले भने, ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन।’ दाहाल पत्नी सीतासहित जनकपुर आएका हुन्।