काठमाडौं – प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
हिजो बसेको बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै दिउँसो ३ बजे बस्ने भनिएको बैठक बिहान ११ बजेका लागि सारिएको थियो ।
सचिवालय बैठक अघि बिहान दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजनको विषयमा छलफल भएको थियो ।
कार्यविभाजनमा मुख्य विवाद स्कुल विभागको नेतृत्वमा छ ।
विभागको नेतृत्वका लागि सचिवालय सदस्य झलनाथ खनाल, सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, अर्का सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, राम कार्की, देवेन्द्र पौडेल, घनश्याम भुसाल र वेदुराम भुसालसहितको दावी छ ।
सुरुमा श्रेष्ठ र पोखरेलको दावी रहे पनि अहिले दावेदारी बढ्दो क्रममा छ ।
पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम विवादकै कारण पुरा हुन सकेको छैन ।
स्कुल विभागको विवाद समाधानका लागि अहिलेलाई अध्यक्ष नेतृत्वमा विभाग राख्नेगरी सहमतिको प्रयास जारी छ ।