२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रियो, फेरि सिंगापुर जाने तयारीमा

1140 Shares
Spread the love

काठमाडौँ– सिंगापुरमा ९ दिनसम्म ‘स्वास्थ्य परीक्षण’ गरेर फर्केपछि आफ्नो स्वास्थ्य राम्रो रहेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिन नबित्दै फेरि स्वास्थ्य बिग्रिएको छ।

उच्च स्रोतका अनुसार स्वास्थ्यमा गडबडी भएपछि प्रधानमन्त्री ओली छिट्टै नै फेरि सिंगापुर जाने तयारीमा जुटेका छन्।

उनी उपचारका लागि आगामी भदौ चार गते सिंगापुर जाने तयारीमा जुटेको स्रोतको भनाइ छ।

ओलीलाई टाउको दुख्ने, ज्वरो, शरीर दुख्ने, घाँटी दुख्ने लगायत समस्या देखिएको छ।

बिहीबार साँझ भारतको ७३ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय दूतावास र वीपी कोइराला इन्डिया नेपाल फाउण्डेशनद्धारा आर्मी क्लवमा आयोजित एक कार्यक्रममा प्रख्यात बासुरीवादक हरिप्रसाद चौरसियाको कार्यक्रममा आफू सामेल हुने प्रधानमन्त्री ओलीले बताएका थिए।

तर एक घण्टा मात्रै पहिला आफूलाई सञ्चो नभएको भन्दै त्यस कार्यक्रममा सामेल नहुने सूचना ओलीले आयोजकलाई पठाएका थिए।

त्यसअघि ओलीको स्वास्थ्य गडबडी भएपछि अन्तिम समयमा आएर उनी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको थियो।

सिंगापुरस्थित नेशनल युनिर्भसल हस्पिटलमा ‘स्वस्थ्य परीक्षण’ गरी ९ दिनपछि प्रधानमन्त्री ओली सोमर अर्थात साउन २७ गते स्वदेश फर्किएका थिए।

त्रिभुवन विमानस्थलमा पत्रकारलाई आफू ठिक भएको संक्षिप्त जवाफ दिएका प्रधानमन्त्री ओलीले त्यसको केहीबेरमा ट्वीटरमार्फत आफ्नो स्वास्थ्य राम्रो भएको र आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता जनाउने सबै र आफ्नो उपचार गर्ने अस्पताललाई धन्यवाद दिएका थिए।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको बीचमा पटकपटक स्वास्थ्यमा समस्या आएको छ ।

प्रतिक्रिया