पाख्रीबास नगरपालिका–७ थाक्लेका मुकुन्द सुवेदीलाई दलितसँग विवाह गरेको भन्दै समाजले बुबाको काजकिरियामा सहभागी हुनबाट वञ्चित गरेको छ । सुवेदीका बुबा यज्ञप्रसाद सुवेदीको २२ साउनमा मृत्यु भएको थियो । साहित्यकारसमेत रहेका मुकुन्द सुवेदी दाजुभाइ र आफन्तले अस्वीकार गरेपछि बुबाको काजकिरियामा सहभागी हुन पाएका छैनन् । बुबाको काजकिरियाका लागि आफू पुख्र्यौली घर पाख्रीवास जान नपाएको गुनासो उनले गरे । ०५३ सालमा धनकुटा नगरपालिका–९ बेलहाराकी मैया रसाइलीसँग उनले अन्तरजातिय विवाह गरेका थिए । उनीहरूका एक छोरा छन् । उनकी पत्नी मैया स्थायी शिक्षक हुन् । कविका रूपमा परिचित मुकुन्द धनकुटा बजारमा रकभा आर्ट सेन्टर चलाएर बसेका छन् ।
यज्ञप्रसादका चार भाइ र एक बहिनी सन्तानमध्ये मुकुन्द कान्छा छोरा हुन् । बुबाको मृत्यु हुनुअघि दाजुभाइ तथा आफन्तसँग राम्रो सम्बन्ध रहे पनि बुबाको मृत्युपछि आफूलाई दाजुभाइले घर जाने अनुमति नदिएको गुनासो उनले गरे । ‘बुबाको मृत्यु हुँदा मलाई दाजुभाइले एकपटक फोनसमेत गरेनन्,’ उनले भने ।
छिमेकीले फोन गरेर घाटमा बोलाए
बुबाको मृत्युपछि उनका जेठा दाइ गोविन्द सुवेदीको मोबाइल नम्बरबाट उनलाई छिमेकीले फोन गरेर बुबाको मृत्यु भएको जानकारी दिएका थिए । फोनमा उनलाई उतैबाट घाटमा मलामी आउन भनियो । सोहीअनुसार उनी बुवाको अन्तिम संस्कारमा सहभागी हुन मूलघाट पुगे । बुबालाई दागबत्ती दिनसम्म उनलाई समाजले अनुमति दियो ।
तर, त्यसपछिका कुनै पनि क्रियाकलापमा उनलाई सहभागी गराउन नसकिने निर्णय समाजले घाटमै सुनायो । छिमेकीमार्फत उनलाई पुख्र्यौली घर नआउन दाजुहरूले खबर गरे । बुबाको दाहसंस्कारपछि उनी धनकुटा नगरपालिका–७ मा रहेको आफ्नै घर फर्के । हाल उनी श्रीमती मैया रसाइली र छोरासहित आफ्नै घरमा बसेका छन् ।