काठामाडौं, ३ साउन । हाम्रो पार्टी नेपालले अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् सांसद गगन कुमार थापालाई कडा चेतावनी दिएको छ ।
पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनसनरत डा.गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार हाम्रो पार्टी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । विगत ६ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको विपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले नेपाली काँग्रेसलाई डा.गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले भने, ‘काँग्रेस सत्तामा हुँदा डाक्टर केसीका मागहरु सम्बोधन नगर्ने अहिले आएर राजनीति गर्ने ? साझा विवेकशील, नयाँ शक्तिले पनि ध्यान दिँदा हुन्छ, गगन थापाजी तपाई सडकमा नआउनुहोस्, हामी सडकमा ओर्लिनुपर्यो भने असहज होला, हामी निर्वाचनपछि जन्मेका हौं, हामीलाई कसैले कमजोर नठाने हुन्छ, देशमा सक्रिय रुपमा रहेका २९ वटा बैदेशिक शक्तिहरुको संरचना ध्वस्त पार्नु आजको खाँचो हो, वैदेशिक शक्तिहरुको ईशरामा नाच्नेहरु होशियार, २००७ सालपछि हाम्रो राष्ट्रियता कमजोर बन्दै गैरहेको छ ।’
डा.गोविन्द केसीको विपक्षमा खरो रुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।
उनले भने, ‘जनताका आकांक्षा एकातर्फ छन्, सरकार अर्को बाटोमा छ, सरकारका मन्त्रीहरु गोविन्द केसीको पक्षमा काम गरिरहेका छन्, प्रधानमन्त्रीले फरक अभिव्यक्ति दिईरहेका छन्, मेरो आग्रह छ, प्रधानमन्त्री ओलीले खुट्टा दरिलो तरिकाले टेक्नुपर्छ, कोही मर्ला, को मर्न जालान्, त्यो फरक कुरा हो, संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ, मैले यसो भन्दै गर्दा गोविन्द केसी मर्नुपर्छ भनेको होईन, उनी अरुबाट परिचालित हुनुहुँदैन ।’