जुम्ला । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई काठमाडौ ल्याउन विद्यार्थीले रोकेको छ । प्रहरीलाई प्रतिष्ठान प्रवेश गर्न दर्जनौं विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरे तर विद्यार्थी र केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध जारी राखेका छन् ।
प्रहरीले विद्यार्थीहरूलाई हटाउन खोज्दा केसीका समर्थकसँग धकेलाधकेल भएको स्थानीयले जानकारी दिएका छन् । सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ । तर, प्रहरीको टोली भने भवन बाहिर नै छ । डा. गोविन्द केसीलाई लिन पुगेका स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनी, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र शाहीले समेत भेट्न पाएनन् । केसीका समर्थकले अपस्ताललाई घरेकाले काठमाडौँबाट गएकाहरु जान पाएका छैनन् ।
अनसनरत डा. केसीलाई काठमाडौं ल्याउन अनसनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकोप्टर स्ट्याण्डबाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयको निर्देशन बमोजिम केसीको जीवन रक्षाका लागि काठमाडौं पठाउन लागिएको बताउँछन् ।