एजेन्सी – ३ जना सहपाठीले असह्य यातना दिएको सुसाइड नोट लेखेर डाक्टरले आत्महत्या गरेकि छन् । मे २२ मा आत्महत्या गरेकी बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको सुसाइड नोट विहीबार मुम्बई प्रहरीले सार्वजनिक गरेको छ । पायलले लेखेको सुसाइड नोटमा आफूसँगै अध्ययनरत ३ जना चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुर्व्यवहारका कारण आफुले आत्महत्या गर्नुपरेको उल्लेख गरेकि छन् ।
३ पानाको सुसाइड नोटमा पाएलले हेमा अहुजा, भक्ति मेहर र अंकिता खण्डेवला आत्महत्याको लागि जिम्मेवार रहेको आरोप लगाएकि छन् ।‘मेरो र स्नेहाल सिन्दे(अर्की सहपाठी विद्यार्थी)को अवस्थाको लागि हेमा अहुजा, भक्ति मेहरे र अंकिता खण्डेलवालाई जिम्मेबार ठहर्याउँछु ,’ नोटमा लेखिएको छ ।
सीमान्तकृत समुदायकी ताड्वीको आत्महत्याले भारतीय चिकित्सिा क्षेत्र र भारतको ‘सेक्लुडेड कास्ट–सेक्लुडेड ट्राइब’ समुदायलाई स्तब्ध बनाएको थियो । ताड्वी महाराष्ट्रको सेक्लुडेड ट्राइबमा सूचीकृत ‘ताड्वी–भिल’ समुदायकी हुन् । ताड्वीको आत्महत्याको एक हप्तापछि उनको सुसाइड नोटमा उल्लेखित तीन महिलालाई पक्राउ गरिएको थियो ।
आमा–बुवालाई सम्बोधन गरिएको सुसाइड नोटमा ताड्वीले यातनाबाट छुटकारा पाउनको लागि उनले आफ्नो विभागबाट कुनै सहयोग नपाएको लेखेकी छिन् । सुसाइड नोटमा लेखिएको छ, ‘म यस संस्थानमा ज्ञान आर्जनको आसा बोकेर आएकी थिएँ । तर सुरुदेखिनै यहाँ केही मानिसले हामीलाई दुर्व्यवहार गर्न थाले । यसबारेमा म र स्नेहालले सुरुमा कसैलाई केही भनेनौँ । तर यातना सहन नसक्ने स्तरमा बढेर गयो । मैले यातनाविरुद्ध कदम चाले तर त्यसले पनि कुनै परिणाम ल्याएन , ।
‘मैले आफ्नो व्यक्तिगत जीवन, व्यवसायिक जीवन र सबै गुमाएको छु किनकि ती तीनले आफूहरु यस अस्पतालमा रहेसम्म मलाई पढ्न लेख्न नदिने कसम खाएको सुनाएका छन् ,’। ‘मैले तिनको दुर्व्यवहारबारे म्याडमहरुसँग पनि कुरा राखेका छु तर त्यसले केही भएन । म अब सबै कुराको अन्त्यमा मात्र निकास देखिरहेको छु,’ नोटमा लेखिएको छ ।