काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई लिखित निवेदन दिँदै आफूलाई जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेका छन् ।
विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने उक्त कार्यालयमा डेढ वर्षदेखि कार्यरत नियन्त्रक अधिकारीले लिखित निवेदन नै दिएर जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेपछि मन्त्रालय तथा मातहतका निकायमा तरंग फैलिएको छ।
परीक्षा नियन्त्रक भएर एसईईको एउटा परीक्षा सफलतापूर्वक सञ्चालन गरेका अधिकारीले पनिकालाई मन्त्रालयले बेवास्ता गरेको गुनासो गर्दै निवेदन दिएका हुन्।अहिलेकै संरचनामा रहेर पनिकामा काम गर्न नसक्ने जानकारी उनले निवेदनमार्फत दिएका छन्।
कानुनअनुसार उक्त कार्यालय राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत पर्छ । किनकी माध्यमिक तहसम्मको शिक्षाको अन्तिम परीक्षा मानिएका कक्षा एघार, बाह्र तथा एसईईको परीक्षा सञ्चालन गर्ने दायित्व बोर्डको हुन्छ। सोही कारणले पनिकामा रहेका शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी पनि एक वर्षअघि नै अन्य कार्यालयमा सरुवा भइसकेका छन्।
उक्त कार्यालयमा अहिले मन्त्रालयले काजमा खटाएको कर्मचरीको भरमा काम भइरहेको छ।नियन्त्रक अधिकारी सहसचिव हुन्। तर बोर्डअन्तर्गत नै कक्षा एघार र बाह्रको परीक्षा सञ्चालन गर्ने नियन्त्रक उपसचिव स्तरका छन्।
एकै कार्यालयमा एकथरी नियन्त्रक उपसचिव र अर्काथरी नियन्त्रक सहसचिव राखिनु अव्यवहारिक भएको गुनासो पनि अधिकारीले मन्त्रालयमा गरेका छन्। अधिकारीले भने, ‘कामको चाप अत्यधिक छ।’ पर्याप्त कर्मचारी छैनन्। यही भएर अफ्नो समस्या मन्त्रालयमा जानकारी गराएको हुँ।’ अधिकारीको पत्रपछि मन्त्रालय छलफलमा जुटेको छ।