२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु, चार घाइते

2273 Shares
Spread the love

नेपालगन्ज- रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गतको मध्यपहाडि राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। सिस्ने गाउँपालिका–६, छिप्रीदहबाट यात्रु लिएर धौलापहिरातर्फ गइरहेको लु १ ज २५७३ नम्बरको जीप सोही गाउँपालिका–५, धारापानी नजिकै दुर्घटना भएको हो।

पुथा उत्तरगंगा गाउँपालिका–२, का अन्दाजी २३ वर्षीय किरण पुन, वडा नं. १ का अन्दाजी ३२ वर्षीय बुद्धिराज पुन र सोही ठाउँका अन्दाजी ४० वर्षीय कुमार पुन, वडा नं. १३ की तिर्सना तुलाचन, वडा नं. १४ की अन्दाजी ३० वर्षीया सालिना बर्मा, भुमे–४, का २८ वर्षीय अर्जुन विक र बाँकेकी २३ वर्षीया ललिता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए।

उनका अनुसार मुसिकोट नगरपालिका–१२, छिवाङका ५२ वर्षीय जयबीर कामी, पुथा उत्तरगंगा गाउँपालिका–११, का २५ वर्षीय प्रमिला बुढामगर, वडा नं. २ का २७ वर्षीया सम्झना पुन मगर, र सोही ठाउँका २७ वर्षीय धनीराम पुन घाइते भएका छन्।

घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रिजालले जनाए। गम्भीर घाइतेलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टेर मार्फत काठमाडौं लगिएको छ। दुर्घटनाको नेपाली सेना, नेपाल प्रहरीले, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए। ११ जना यात्रु रहेको गाडी घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ। जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको  छ।

प्रतिक्रिया