२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

नेपाली कामदारमाथि मलेसियामा ज्यादती र अपमान

1026 Shares
Spread the love

काठमाडौं । मलेसियाको आधुनिक पूर्वाधार निर्माणमा नेपाली युवाहरुले बगाएको रगत र पसिना ‘सर्पलाई दुध पिलाए’ झै भएको छ । सर्पलाई जति नै दुध पिलाए पनि एक दिन मालिकलाई नै डसेर मार्छ भने झै मसेसियाको आकाश छुने भवन तथा चमत्कारिक पूर्वाधार विकासमा रगत र पसिना बगाएका नेपाली युवाहरुलाई मलेसिया सरकारले अमानवीय व्यवहार गर्न सुरु गरेको छ । विश्वकै कम विकसित देशहरु मध्येमा पर्ने नेपालका जनता जीवन निर्वाहको लागि बैदेशिक रोजगारीमा जानु उनीहरुको बाध्यता छ । सरकारले रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश जान बाध्य नपार्ने भनेपनि युवाहरु विदेश पुगेका युवाहरुमाथि दमन, धरपकड तथा ज्यादती हुँदा समेत सरकार एक शब्द बोल्न सकेको छैन ।

बेरोजगार नेपालीहरुको आकर्षक गन्तव्य मुलुक मलेसियामा नेपाली कामदारमाथि त्यहाँको सरकारको ज्यादती, अपमानबाट नेपालीहरु प्रताडित बनिरहेका छन् । पछिल्लो समय बैधानिकताको नाममा मलेसियामा रहेका नेपालीहरु प्रहरी सुरक्षाकर्मीले दमन, धरपकड तथा अपमानको सिकार हुन थालेका छन् । जसका कारण नेपालीहरुको जक्सन भनेर चिनिने मलेसियाको राजधानी क्वाललम्पुरको कोताराय, बुकिबिन्ताङ तथा घण्टाघर आसपासका क्षेत्रमा नेपालीहरुको उपस्थिति न्यून हुन थालेको छ । दुई साताअघि मलेसिया प्रहरीले सडकमा हिडिरहेका, होटलमा काम गरिरहेका तथा पसलमा खाना खाइरहेका नेपालीहरुमाथि धरपडक गर्दै करिब दुई हजार पाँच सयको संख्यामा पक्राउ गरेको थियो । नेपाली देख्ने वित्तिकै पक्राउ गरेको मलेसिया प्रहरीले कागजात सही भएकालाई एक÷दुई दिन जेलमा राख्ने, यातना दिने, साथमा भएको राम्रो मोबाइल तथा नगद लिएर छोडिदिने गरेका छन् भने अबैध रुपमा बस्दै आएका नेपालीलाई इमिग्रेशनमा बुझाउने गरेका छन् । बैधानिक कागजात भएका नेपालीहरुलाई समेत मलेसियाको प्रहरीले अनुसन्धानको लागि भन्दै अन्धाधुन्द पक्राउ गर्ने, थुन्ने, धरपडक गर्ने गरेपछि घुम्न मलेसिया पुगेको नेपाली पर्यटक समेत मलेसियामा बस्न नकेर भाग्नुपर्ने अवस्था आएको स्थानीय भुक्तभोगीहरुको गुनासो छ ।

बैधानिक रुपमा मलेसियामा बस्दै आएका नेपालीहरुलाई प्रहरीले दुःख दिन थालेपछि आफूहरु बिस्थापित हुने अवस्थमा पुगेको क्वाललम्पुरमा बस्दै आएका सुदन नेपालीले बताए । ‘मलेसियन प्रहरीले हामीमाथि अमानवीय व्यवहार गरे, शरणार्थी झै जहाँपायो त्यहीबाट बैधानिक कागजात भएकाहरुलाई समेत पक्राउ गरी प्रहरी कार्यालयमा लैजाने, यातना दिने तथा साथमा भएको नगद लिने कार्य समेतले हामी आतंकित बनेका छौं ।’ नेपालीमाथि राजधानी क्वाललम्पुरमा प्रहरीको ज्यादती बढेपछि नेपालीहरु भेला हुनै छोडेका छन् । यअसघि विदाको दिन भेला हुने र दुःख सुखको गफ गर्ने थलोको रुपमा कोतारायलाई जक्सन नै बनाएका थिए । केही समयअघिसम्म सपिङ, घुमफिरका लागि नेपाली कामदारहरु राजधानी केएलमा भेला हुने गरेको भएपनि प्रहरी आतंकपछि अहिले नेपालीहरु भेला हुन समेत बन्द भएको स्थानीय व्यापारीहरु बताउँछन् । नेपालीहरु आउन छोडेपछि व्यापार निकै खस्केको कोतरायमा व्यवसाय गर्दै आएका एक व्यापारीले बताए । ति व्यापारीले भने, ‘प्रहरीले कुनै पनि बेला जे पनि गर्न सक्ने भएकाले मानिसले जोखिम मोलेर केएल घुम्न छोडे ।’

त्यसो त राजधानी क्वाललम्पुरमा नेपालीहरुमाथि मात्रै नभएर बंगलादेशी कामदारमाथि समेत प्रहरीले दमन र धरपकड तीव्र बनाउने गरेका छन् । प्रहरीहरुले कामदारमाथि मानवीय व्यवहार समेत नगरेको गुनासो गरेका छन् । मलेसियन प्रहरीको ज्यादतीको सम्बन्धमा क्वाललम्पुरमै रहेको नेपाली दुताबासले समेत खासै चासो नदेखाएको पीडितहरुको गुनासो छ । प्रहरीको आतंकका बीचमा भेटिएका नेपालीहरुले मलेसियास्थित दुताबासले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका छन् । अबैधानिक रुपमा बसेर घर फर्कने नेपालीहरुको लागि केही सहयोग गरिरहेको भएपनि त्यस बाहेक त्यहाँ भएको मानव अधिकार हनन्का विषयमा मलेसियास्थित दुताबासले मलेसिया सरकारसँग दह्रोसँग कुरा राख्न नसकेको अधिकांश युवाहरुको गुनासो छ । नेपाली दुताबासका कर्मचारी मलेसियाका सरकारी अधिकारीसँग डराउने, प्रहरीसँग राम्रोसँग कुरा गर्नै नसक्ने समस्या रहेको स्थानीय युवाहरुको भनाई छ । मलेसियाका लागि नेपाली राजदूत नभएका कारण समेत नेतृत्व गर्न समस्या उत्पन्न भएको युवाहरुको भनाई छ ।

नेपाली दुताबासमा दलालको घेराबन्दी
‘बाघको मुख हेर्न मन लागे बिरालोको मुख हेर्नु र शत्रुको मुख हेर्न मन लागे दाजुभाइको मुख हेर्नु’ भने झै मलेसियामा रहेर पीडित बनेको नेपालीहरुलाई त्यहाँ रहेका नेपाली दलाललहरुले खरिद बिक्री गर्ने गरेका छन् । मलेसियामा विभिन्न कारणले समस्यामा परेका, पासपोर्ट नभएकाहरु नेपाल फर्कन नेपाली सरकारको आधिकारिक निकाय दुताबास आउँदै गर्दा बाटो–बाटोमा दलालहरुले बिक्री गर्ने गरेका छन् । राजधानी क्वाललम्पुरबाट करिब चार सय किमी क्वान्तान, जोहोरबारु लगायतका स्थानदेखि नै दलालले सेटिङ गर्ने गरेको फेला परेको छ । कोतारायमा बस्ने करिब डेढ सय नेपालीको दैनिकी दुताबासमा च्याखे थाप्ने हुने गरेको छ ।

मलेसियन भाषा समेत बोल्न जान्ने, स्थानीय प्रहरीसँग समेत सेटिङ गरेर दलालहरुले नेपालीहरुलाई घर फिर्ती कार्यमा सहयोग गरेको जस्तो देखाएर प्रतिव्यक्ति दुई हजार देखि तीन हजार पाँच सय रिंगेट अर्थात नेपाली ६० हजार देखि एक लाख रुपैयासम्म लिएर प्रक्रिया पुरा गर्दै आएका छन् । नदिने र ठगिएको कुरा गर्ने नेपालीलाई तत्कालै प्रहरी बोलाएर पक्राउ गराउने जस्तो घृणित कार्यमा समेत केही नेपाली दलालहरु लागेका छन् । मलेसियास्थित नेपाली दुताबासका अनुसार घर फर्कने चाहने अबैधानिक कामदारहरुले दुताबासमा खासै शुल्क तिर्नुपर्दैन । कोप्रासी नामक संस्थालाई सात सय रिंगेट र नेपाल फर्कने टिकट काटेपछि उनीहरु सजिलै नेपाल फर्कक सक्ने अवस्था भएपनि सोझा युवाहरुलाई प्रहरीको डर, त्रास देखाई धम्की दिई दोब्बर भन्दा बढि रकम असुली गर्दै आएका छन् । पहिलो तल्लामा बसेका दलालहरुले सेवाग्राहीलाई तेस्रो तल्लामा सेवा लिन जान समेत रोक्ने गरेको पीडितहरुको गुनासो छ । क्लावलम्पुरमा रहेको नेपाली दुताबासमा पीडित नेपालीहरु सजिलै भित्र छिर्न समेत पाउदैनन् । दुताबासदेखि चार÷पाँच सय मिटर वरपर बसेका दलालहरुले दुताबासमा सेवा लिन जादै गरेका पीडित नेपालीहरुलाई बिक्री गर्ने गरेका छन् ।

नेपालबाट विदेश जाँदा जस्तै दलालपिच्छे कमिशन खादै घर फर्कन चाहने पीडित नेपालीहरुलाई दलालहरुले हजारौं रुपैयाँ ठगी गर्दै आएको भएपनि दुताबास र सरकारले कुनै पहल नगरेको गुनासो पीडित युवाहरुको छ । दुताबासबाट कागजात लिएर पीडित युवा मलेसिया सरकारको आधिकारिक निकायमा पुगेर औठाछाप लगाउने लगायतका प्रक्रिया पुरा गर्न सक्ने भएपनि नेपाल फर्केका शतप्रतिशत नेपालीहरु दलालमार्फत कम्तीमा दुई हजार र बढिमा तीन हजार पाँच सय तिरेर फर्कन बाध्य हुँदै आएका गुनासो गरे ।

दुताबास परिसरमै दुताबासको काम कारवाही पारदर्शी बनाउन फेसबुक पेजमा प्रत्यक्ष सूचना तथा जानकारीहरु शेयर गर्नेदेखि धेरै प्रयास गरेको दुताबासले जनाएको छ । पीडित नेपाली युवाहरुले लगाएको आरोप अनुसार दलालमार्फत निश्चित प्रतिशत दुताबासका कर्मचारीको गोजीमा समेत रकम पुग्ने गरेको छ । दुताबासका डेपुटी चिफ मिशन कुमारराज खरेल, प्रशासन प्रमुख बिनोद मुखियालगायतका कर्मचारीहरुसँग दलालको राम्रो सम्बन्ध रहेको बताइन्छ ।

प्रतिक्रिया