जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी (एमएलडीपी) ले नेपालमा केपी ओली सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिवन्धको विरोध गरेको छ ।
एमएलडीपीले एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग गरेको छ। साथै उसले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पार्न समेत माग गरेको छ।
‘जर्मनीमा हामीले जर्मन कम्यूनिष्ट पार्टी (केपीडी) माथि लगाइएको प्रतिवन्धबाट महत्वपूर्ण अनुभव लिएका छौँ। सन् १९५६मा प्रतिक्रियावादी सरकारबाट हामीमाथि प्रतिवन्ध लगाइएको थियो। यतिबेला नेपालको वामपन्थी सरकारले प्रतिवन्ध लगाएको छ।’ विज्ञप्तीमा भनिएको छ।
पत्रमा अगाडि भनिएको छ, ‘निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नताहरू रहेका छन् । सम्बन्धित ठोस कामका बारेमा पनि उपयुक्त आलोचनाहरू पनि रहेका छन् तर वामपन्थी शक्तिहरूका बीचमा जहिले पनि बहसलाई आलोचना र आत्मालोचनाको प्रक्रियामा गरिनु पर्दछ । क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’
‘यही चेतनामा, हामी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दछौँ । साथै तपाईंलाई यस निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौँ अथवा हामीलाई थप औचित्य उपलब्ध गराइदिन अनुरोध गर्दछौँ ।’ पत्रको अन्त्यमा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा जर्मनको कम्युनिष्ट पार्टीले सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्धप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको हो।