२०८१, १८ कार्तिक आईतवार
×

ट्रेन्डिङ

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी

1650 Shares

काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक समग्र चिकित्सा शिक्षा क्षेत्रको विकास र प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गरिएकाले विरोध गर्नुको औचित्य नरहेको दाबी गरेका छन्।

विगतको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पास गर्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी जुम्लामा अनसन बसिरहेका बेला सरकारका मन्त्रीले वर्तमान सरकारले ल्याएको विधेयक  उत्कृष्ट रहेको दाबी गरेका हुन्।

डाक्टर केसीकै जस्तै मेहेनत आफूले प्रतिस्थापन विधेयक ल्याउन गरेको भन्दै उनले त्यो संसदबाट पास नभई फिर्ता भएपछि फेरि विधेयकलाई संसदमा दर्ता गरिरहेको बताए। विधेयकले नयाँ मेडिकल कलेजको स्वीकृति दिने, नयाँ मेडिकल कलेज खोल्ने तथा समग्र चिकित्सा शिक्षाको अनुगमन र नियमन गर्नका लागि शक्तिशाली आयोगको व्यवस्था गरेकाले त्यस विषयलाई उठाउनु जरुरी नभएको तर्क उनले गरे। माथेमा कार्यदलले दिएको सुझावलाई हुबहु स्वीकार गर्न नसकिने भन्दै उनले विश्वविद्यालय शिक्षा र विद्यालय शिक्षा हेर्ने निकाय भिन्न हुनुपर्ने दाबी गरे।

डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उनलाई काठमाडौँ ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताए।

विधेयकमा छात्रवृत्तिमा एम बिबिएस अध्ययन गरेका विद्यार्थीले कम्तिमा सुगममा ३ बर्ष र दुर्गममा २ बर्ष  सेवा गर्नुपर्ने, ३७ सदस्यीय आयोगलाई १७ मा झारिएको र एउटा विश्वविद्यालयले कति वटालाई सम्बन्धन दिने लगायत विषयको अन्तिम टुंगो लगाउने जिम्मा पनि आयोगलाई दिइएको स्पष्ट पारे।

चिकित्सा शिक्षा विधेयकलाई लिएर आफूमाथि काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न दिन हुदैन भन्ने प्रावधान झिकिएको, सम्बन्धन, छात्रवृति तथा ३ सय शैया नभएपनि मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्ने आरोप लाग्दै आएको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रमा विषयगत दक्षताको कमी देखिएको टिप्पणी गरे।

शिक्षामन्त्री पोखरेलले पार्टी पत्रकारिताभन्दा माथि उठेर सही सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गरी पेशागत उत्तरदायित्व वहन गर्न पत्रकारहरुलाई सचेत गराए।

शिक्षा विभाग र नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा गरेको शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो।

 

प्रतिक्रिया