२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

मेरो साकेला (उभौली २०७६) यात्रा

676 Shares
Spread the love

किराँतीहरुको महान चाड उभौली र उधौली हरेक वर्ष संसार भर भव्यताका साथ मनाउने गरिन्छ। आफ्नो मौलिक बाजा र भेषभुषामा सुसज्जित भएर एक ठाउँ जम्मा भै मनाईने चाड सालमा दुई पटक मनाईन्छ। आजभोलिका किराँत राई समुदायमा यो चाड स्वदेशमा भन्दा बिदेशमा झन् ब्यापक भएको छ। यस चाडको मुख्य आकर्षण चण्डी (शिली)नाच हो जुन नाच केवल किराँत राई भित्र मात्र सिमित नभएर अन्य जातीले समेत रुचाउने र यसमा रमाउने गर्छन्। आफ्नो पुस्ता हस्तन्तरणको क्रममा अघिल्लो पुस्ताले गरी आएको रितीथिती, संस्कृति, चाल चलनहरु हराएर नजावोस् र यसको संरक्षण, सम्बर्धन र जगेर्ना भएर जावोस् भनी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ। उभौली २०७६ (येलेदुङ् ५०७९) पनि ज्यादै रमझमका र सफलताका साथ सुसम्पन्न भयो।

सन् २०१९, मे १८ शनिबार, घाम लागेको थियो। बिहान छिट्टै उठ्नु पर्ने मेरो जिम्मेवारी र कर्तब्य ठानी जुरुक्क ओछ्यानबाट उठें। उनी भने अलि समय सम्म ओछ्यानमै थिइन्। छोराको ड्युक अफ एडिन्ब्रोको ब्रोन्ज अवार्ड तालिमको लागी उसलाई खाजा खुवाएर गन्तब्य स्थानमा पुर्याउनु पर्ने थियो। यसो उठेर पहिलो कार्य सुची सम्पन्न गरी भान्छा कोठा तिर लागें। छोरालाई उठ्न भन्दै आफुले जानेको खाजा तयारी गर्न तिर ब्यस्त भएँ। यो बेला सम्म घरमा निकै सल्यांग बल्यांग शुरु भै सकेको थियो।आमा बाबाहरु पनि चाँडै उठेर तल झरी सक्नु भएको थियो कारण आज साकेला याने कि चण्डी जाने दिन। हतार हतार गरी छोरालाई तोकिएको समय र स्थानमा पुर्याएर स्कुलको स्टाफलाई जिम्मा लगाएर सिधै घर फर्के। मलाई अचम्म लाग्यो त्यो बेला सबै जना तयारी भएर बाटो लाग्न तयारी भै सकेका रहेछन्, म पो ढिला भएछु। आश्चार्य पनि लाग्यो अरु बेला मैले घरबाट बाहिर निस्कन घन्टौं कुर्नु पर्ने आज त उल्टै मलाई कुर्नु परेको थियो। सम्झदै सधैं यस्तै हुनु नि भनी गुन्गुनाए भनेको त अवाज नै निकालेर बोलेछु। अलिकती हाँसो भो र घरबाट निस्कने बेलामा केहि बिर्सियो कि भनी सोध्न समेत परेन। सबै जना हतारिएको अनुभूत भयो। त्यहि बेला केवल कारको चाबी मात्र के समातेको थिए मोबाइलमा कल आयो यसो हेरेको त भरत जी को रहेछ। एक छिन भलाकुसारी पछि गन्तब्य स्थानको पोस्ट कोड सोध्नु भयो र मैले पठाई दिने शर्तसाथ उतै भेटी कुरा गरौंला भनी बिदा भएँ।​

​झन्डै साढे दश तिर घरबाट रमाइलो मेला भर्न मनभरी उमङ्ग बोकेर बाटो लाग्यौं।​ सप्ताहन्त भएकाले एम २० को बाटो पनि खुल्ला नै रहेछ त्यसैले लागियो ग्याम्बल लेन (चण्डी नाच्ने स्थान) तर्फ कारको पाउँदार गतिमा।अघिल्लो साल तिर खासै साकेला शिली तिर त्यति चासो राखिंदैन थियो तर यस पटक किन हो जाउँ जाउँ लाग्यो। घरमा सल्लाह भयो र आमा बाबा त हामी नगए पनि जाने पक्षमा नै हुनुहन्थ्यो। भन्नु भयो आफन्त भेटिन्छ, गफ गर्न पाईन्छ, नाच्न र नाचेको हेर्न पाइन्छ। तिमीहरुलाई महत्व नै छैन यसको अहिले, पछि मात्र थाहा हुन्छ। त्यस पछि साथीहरुसंग यसो कुरा गरेको निकै साथीहरु पनि चण्डी जाने बुझियो त्यसैले श्रीमतीको समेत छुट्टी मिलाएर सबैको घर सल्लाह अनुरुप जाने तर्जुमा भएको हो तर छोराको भने जति मिलाउँदा पनि समय अनुकुल परेन। अर्को साल सपरिवार जाने विचारले यस पटक छोरा बिना दुई पुस्ता मात्र हानियौं उतै तिर। झन्डै एक घण्टाको बाटो भए पनि चांडो पुग्न मन सबैको हतारिएको आभाष हुन्थ्यो। तर खै किन हो कहिले कहीं “हतारको बेला पातर स्वास्नी” भने झैं पुग्ने बेलामा टम टमले लगेको बाटो बन्द रहेछ, काउन्सिलको बाटो मर्मतको अनिसुचि त्यहि सप्ताहन्तमा परेर। बैकल्पिक बाटो खोज्दै फर्केर अन्ततोगत्व ग्याम्बल लेन पुगेरै छाडियो झन्डै १२ बजे तिर। पुग्ने बेलामा त केहि मार्शलहरु पनि बाटो देखाउन राखिएको रहेछ तर अघिल्लो जङ्गसनमा राखेको भएको भए हुन्थ्यो भन्दै असन्तुष्टि पनि अलिकति ब्यक्त गरियो।

पुग्न साथ पार्किङ्ग टिकटको लागि खटिएका सुरक्षाकर्मिहरुले एक पाउण्ड लिंदै टिकट गाडीको ड्यास बोर्ड राख्न लगाए। तोकिए मुताबिक कार पार्क गरेर यसो प्रवेश द्वार तिर लागियो जहाँ आफ्नै नम्बरी प्रेमकुमार राई प्रवेश शुल्कको लागि टिकट बिक्रि गर्दै हुनुहुँदो रहेछ। एक छिन भलाकुसारी पछि प्रति व्यक्ति १० पाउण्डको टिकट किनेर भित्र पसियो। धेरै तम्बु र स्टलहरु वरिपरी खडा गरेको र बिचमा ठुलो तम्बु र त्यसको बिचमा मंच बनाएर भव्यताका साथ सजाईएको प्राङ्गणमा शिलीको प्रदर्शनको लागी घेरा हाली बिचमा थान थापिएको थियो। लामो समय देखि शिलीको तयारि गरेको र आज प्राङ्गणमा प्रतियोगीहरु घमासान युद्ध मैदानमा उत्रन कम्मर कसेर बसेको जो कोहिले लख काट्न सक्ने अवस्था देखिन्थ्यो। आ-आफ्नो शाखाको तम्बु अगाडी आफ्नो ब्यानर सहित प्रतिस्पर्धाका लागि तयारी भएको र संचालकको संकेतमा आफ्नो पालो पर्खेर बसेको ज्यादै उमङ्ग पूर्ण रमाइलो दिन। किराँती भेष भुषामा सजिएर झकिझकाउ देखिने महिलाहरुलाई हेर्दा खेतबारीमा तोरी फुलेर पहेलै देखिएको झैं लाग्दथ्यो। पुरुषहरु भने उर्लीउर्ली ढोल झ्याम्टा ठोकेर उही नारीहरुलाई नाच्न हौसला दीईरहेका थिए। मुख्य तम्बु भित्र निम्तालु पाहुनाहरुको गलामा खादा साथ नाचको प्रदर्शनी हेर्न कौतुहल भएको आभाष चनाखो रुपमा घुमेको आँखाले दिन्थ्यो। स्थानीय मेयर, एन. आर. एन. ए.का अध्यक्ष, ब्रिटेनका लागी नेपाली राजदुत तथा विभिन्न संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त दिन सबै आसनहरु खचाखच भरिएको देखिन्थ्यो।

जंगलको बीचमा ठुलो चौर र वरिपरिका जंगलका बासिन्दाहरु चरा चुरुंगी, मुसा, खरायो, किरा फट्यांग्रा रमाउने थलोमा यो किरातहरुको बार्षिक भेला हुने गर्दछ। सायद प्रकृति पुजक भएकाले नै होला यो स्थान किराँतीको लागी उपयुक्त ठानिएको। गेटबाट पस्ने बित्तिकै एउटा ठुलो रुखको फेदमा भुमे थान स्थापना गरिएको छ। जहाँ सबैले धुपधुवाँर गरी एक किलिक फोटो लिएर भित्रको कार्यक्रममा सम्मिलित हुने चलन छ। भित्र पस्नासाथ आ-आफ्नो समुहमा कोहि तम्बु टाँगेर बसेको कोहि कुर्शी र गुन्द्री ओछ्याएर भुईंमा बसेको अनि आफ्नै घरबाट बोकेर ल्याएको पिकनिक जस्तो गरी खाना खाएको दृश्य पनि देखिन्थ्यो।जाँड रक्सी बिना किराँतीको कुनै कार्य चल्दैन। किराँतीहरुलाई दु:ख पर्दा होस् या शुभ कार्यमा होस् चोखो जाँड र रक्सीको जरुरत पर्दछ। त्यसैले चिसो बीयर, व्हिस्की र वाईनका बोतलहरुको पनि निकै खपत भएको देख्न सकिन्थ्यो। मौसम राम्रो भएकाले गर्दा जता बसे पनि कुनै समस्या नहुने तर पिउने पानीको भने निकै जरुरी परेको पनि महसुस हुन्थ्यो। साथी भाई, आफन्त भेटघाट, हाँस खेल गर्दै मेला भर्दाको रमाइलो अनुभव नै त्यो दिन मुख्य औचित्य हुने गर्दछ कति पय व्यक्तिहरुको भने। कति जनाको भेट हुने भाका पनि लामो समय देखि चन्डीको दिनलाई नै तोकिन्छ।

हामी पनि भूमे पुजा गरीवरी बस्ने ठाउँ ओगटेर आफन्त र साथी भाई भेट्न मेला घुम्न थालियो। घुम्ने क्रममै धेरै आफन्तहरुसंग पनि भेटघाट भयो। उहाँहरुसंग भलाकुसारी गर्दै जाँदा गाउँघरको याद पनि अलिकति आयो । आफन्तहरुले लिएर आउनु भएको विभिन्न परिकारहरुको स्वाद लिंदै खाना पिनाको साथमा कुरा साट्न पाउंदा कता कता उही गाउँको मेलामा पो छु कि जस्तो भान पनि भयो। दुनामा सिन्काले खीलेको पुंडी सुंगुरको मासू नभए पनि हटकेसमा बोकिएको मासुको परिकारहरु र कठुवामा बोकेको तीनपाने र सरुवा नभए पनि बोतल र क्यानमा बोकिएको व्हिस्की र बियरको ग्रहणले आफ्नै गाउँ ठाउँ तिर पुगेको आभाष हुन्थ्यो र त्यसैले तिर्सना मारेको अनुभव भएको थियो। लाग्थ्यो उक्त ठाउँ वेलायत नभएर नेपालकै कुनै स्थान हो यो। ढोल झ्याम्टाको एकोहोरो झ्याम झ्याम सुन्दै र मेलाको चहल पहल हेर्दा उपस्थित भएका सबै रमाई रहेको महसुस हुन्थ्यो।

यसै गरीउक्त दिनको मुख्य आकर्षण नै शिली प्रतियोगिता हो जुन हरेक शाखाबाट महिनौ देखि अभ्यास गरेर तयारी गरिएको हुन्छ। तोकिएको नियमानुसार शीली प्रतियोगिता विभिन्न शाखाका प्रतियोगीहरु बीच हरेक वर्ष हुने गर्दछ। बढीमा एक शाखाबाट ३५ जनाले भाग लिन सक्ने नियम अनुसार बच्चा, युवा, बुढा बुढी जो नाच्न सक्ने अवस्थामा छन् उनीहरुले समुहमा भाग लिन सक्ने छन्। उक्त प्रतियोगिताको निष्पक्ष र उचित मुल्यांकन गर्नको लागी निर्णायक मण्डल तोकिएको हुन्छ। रंगीबिरंगी भेष भुषामा सुसज्जित भएका प्रतियोगीहरु हातमा स्याउला, चम्मर लिएर ढोल र झ्याम्टाको तालमा गरिने विभिन्न कुराहरुको नक्कल सहित थानको वरीपरि नाच्ने गर्दछन्। ढोलेहरु मच्ची मच्ची ढोल ठोकेर आफ्नो समुहलाई जोस दीई रहेका हुन्छन्। नाच्नेहरु उफ्री उफ्री हल्का संग आफ्नो कला देखाई रहेका थिए।आहा…. कति रमाइलो। हरेक समुहले सक्दो राम्रो प्रदर्शनी देखाएर दर्शकलाई भरपुर मनोरंजन दिएका थिए। सबै प्रतियोगीहरुको उद्धेश्य जित्ने नै थियो तर दुर्भाग्य बिजेता एउटा समुह मात्र छानिन्छ। गत सालको बिजेता मेडस्टोन शाखा रहेको हुनाले निक्कै कोसिस गरेर आफ्नो टाईटल कायम राख्न खोजेको देखिन्थ्यो। तर दुर्भाग्यवास यस पटक दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो मेडस्टोन शाखाले र आश्फ़ोर्ड शाखा यसपटकको बिजेता बन्यो र टाईटल खोस्न सफल भयो।

प्रतियोगिता समाप्त भए पछि ठुलो घेरामा जो कोहि पनि चण्डी नाच्न सकिने र नजान्नेहरुका लागी सिपालुबाट सिक्न सकिने मौका हुन्छ। ईच्छुक व्यक्तिहरु कार्यक्रम अन्त नहुँदा सम्म जोस र जागरका साथ नाच्ने क्रम जारी रहेको थियो। मेरो उद्देश्य भने नाच हेर्ने साथीहरु संग भेटघाट गर्ने रहेकाले त्यसैमा दिनभर ब्यस्त रहें। अन्त सम्ममा कति नयाँ आफन्तहरु संग चिनजान भयो र कति चिनेकाहरुसंग लामो समय पछि भेट भएकाले दु:ख सुखका कुराहरु बाँडियो र दिनलाई बिस्तारै बिट मारियो। सबै अफ़न्तहरु संग बिदा भएर आ-आफ्नो घर फर्कने क्रम चल्न थाल्यो, हामी पनि उसै गरी अर्को साल भेट्ने बाचा गर्दै घर तिर सपरिवार झन्डै साँझ सात बजे तिर बाटो लाग्यौं। फर्कदा घाम पहेल्पुर भएको थियो अस्ताउने तरखरमा, लाग्यो आज पुजा राम्रो भएछ। प्रकृती खुशी भैछिन् र घर फर्कदा तापिलो शक्ति नभए पनि हँसिलो मुहारमा हामीलाई बिदा दिई रहेकी थिईन्।

पछिल्लो समयमा विभिन्न जात जातिको आफ्नो संस्कृति भेष भुषालाई जीवित राख्नु पर्छ भनेर अहिलेको पुस्ताहरु लागी परेको अनुभव हुन्छ। एकातिर विस्थापनको क्रममा नयाँ समाजको चलन, संस्कृति र रहन सहन संग समाहित हुन चाहन्छु भनी सम्बन्धित राष्ट्रको नियम कानुनको पालना गर्ने कसम खाईन्छ अर्कातिर यसरी नेपालको आफ्नो संस्कृतिको बाढी स्वदेशमा भन्दा बिदेशमा आएको हेर्न पाईन्छ। किरांत जातिको साकेला मात्र नभएर अन्य जात जातिको यस्ता मौलिक चाड पर्वलाई जीवित राख्न परदेशी भुमि कति सम्म हाम्रो पक्षमा रहन्छ भन्ने कुरा एक सोचनिय विषय हो जस्तो लाग्छ। हाम्रा आउने पुस्ताले यसलाई कति सम्म जगेर्ना गर्न सफल हुने हुन् त्यो भने उनीहरुकै भविष्यले नै बताउला।

ढोल झ्याम्टाले पुर्याउने ध्वनी प्रदुषण स्थानीय समाजले कति हद सम्म स्वीकार गर्न सक्छ भन्ने कुरा एक मनन गर्नु पर्ने विषय हो जस्तो लाग्छ। स्थानीय जनावर, चरा चुरुङ्गी प्रकृतिकै नजिक रहने प्राणीहरु हुन् कतै तिनीहरु हामी परदेशमा बिस्थापित भए झैं बिस्थापित हुनु पर्ने पो हो कि?

सेमन्त राई

संखुवासभा

हाल वेलायत

प्रतिक्रिया