धरान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढंगले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर–१ का कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सहमति जे भएपनि सहमतिमै केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनसक्ने बताए ।
‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ’–दाहालले भने–‘सरकार सन्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’
उनले करिब पाँच मिनेटमात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
अध्यक्ष दाहालले पार्टीका विस्तृत् कुरा बुझेरमात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए ।
उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुंग्याउने पनि जानकारी गराए ।
किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आएका अध्यक्ष दाहालले पहिले कार्यकर्तासँग १२ बजे भेटघाट गरेर उभौलीको समापन गरेका थिए ।