काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको एकसाता लामो भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति पुन भियनामा जेठ १४ गते हुने जलवायु सम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका हुन ।पुन आइतबार बिहान ९ः२० बजे अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमामा अष्ट्रिया उडेका हुन् । पुनको भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी भएका छन् ।
अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर २० विश्व शिखर सम्मेलनमा नेपालको धारणा राख्ने छन् । भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट हुनेछ ।
उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममासमेत सहभागी हुनेछन् ।अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्किने छन् ।