‘विराटनगर – उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले शनिबार विराटनगरमा आयाजित पार्टीको प्रदेश नम्बर १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे ।
उनले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको दाबी गरे ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे ।
अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा रहेका दुई ठूला पार्टीको विकल्पमा समाजवादी पार्टी रहने चर्चा गर्दै पदका निम्ति पार्टीका कार्यकर्तामा कुनै लोभलालच नभएकाले जनताको सेवा नै मुख्य रहेको छ जिकिर गरे ।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि कार्य गर्ने धारणा व्यक्त गरे ।