२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

भीषण वर्षाका कारण भक्तपुर र थिमि डुबानमा

3111 Shares
Spread the love

भक्तपुर। गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ। यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन्। राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्। यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन्।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए। रासस

प्रतिक्रिया