काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ सोचविचार गरेर राखिएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा मंगलबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सुविचारित ढंगले, जानी बुझीकन नै मेरो सरकार भन्ने शब्द राखिएको हो । भुलचुकमा राखिएको होइन । राष्ट्र प्रमुखले मेरो सरकार भनेर सम्बोधन गर्न आवश्यक छ । मेरो जनता, मेरो भूगोल, मेरो जनता भन्नु एकदम ठीक छ । प्रतिपक्षले पनि मेरै सरकार भने हुन्छ ।’
प्रधानमन्त्रीले अघि भने, ‘राष्ट्रपतिले मेरो सरकार भन्दा अचम्म भो । संविधानमा धेरै कुरा मिलेको छैन, मिलाउँदै जाने हो । मिलाउने क्रममा जारी छ । विपक्षी दलका नेताले प्रयोग गरेको बेलायती महारानी भन्ने उपयुक्त भएन । बेलायतसँग हाम्रो कुटनीतिक सम्बन्ध छ । बेलायती महारानीको सम्बोधनलाई नकारात्मक रुपमा प्रस्तुत गर्न आवश्यक छैन । भारतमा प्रणव मुखर्जी जस्तो आजीवन कांग्रेसबाट राजनीति गरेको व्यक्तिले समेत बिजेपी सरकारमा आएपछि मेरो सरकार भन्नुभयो । नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक अभ्यास भएको पार्टीले यस्ता कुरामा रुमलिनु हुँदैन ।’
उनले नीति तथा कार्यक्रम केही लामो भए पनि सबै कुरा समावेश भएको बताए ।
संविधान संशोधनका सम्बन्धमा उनले भने, ‘सुशील कोइरालाकै पालामा संविधान संशोधन भइसकेको हो । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ । एउटा सेक्टरको लागि मात्र होइन, सिंगो देशका लागि । संविधान संशोधन जुन बेला पनि गाउने गीत जस्तो भयो । सार्वजनिक खपतका लागि सधैँ भन्ने कुरा मात्र भयो । के–के मा संशोधन गर्ने छलफल हुनुपर्छ । यो लहडको विषय होइन । राम्रो उद्देश्यका साथ संविधान संशोधन गर्न सकिन्छ ।’