बार्सिलोना – युरोपियन च्याम्पियन लिग अन्तर्गत सेमीफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ। घरेलु मैदानमा लिभरपुललाई ३–० ले पराजित गरी फाइनल प्रवेशका लागि बलियो दाबीदारी प्रस्तुत गरेको हो ।
बार्सिलोनाको जितका लागि मेसीले २ र सुवारेजले १ गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले बार्सिलोनालेभन्दा बढी समय बल आफ्नो कब्जामा राखेको थियो । तर बार्सिलोनाविरुद्ध स्कोर गर्न नसक्दा गत सिजनको फाइनलिस्ट लिभरपुल फराकिलो हार व्यहोर्न बाध्य भयो ।
खेलको २६ औं मिनेटमा लुइज सुवारेजले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले अगाडी रहेको बार्सिलोनाका लागि मेसीले ७५ औं मिनेटमा दोस्रो गोल गरे । त्यसको ७ मिनेपछि नै ८२औं मिनेटमा मेसीले अर्को गोल गरी बार्सिलोनाका लागि फराकिलो अन्तरको जित निश्चित गरिदिए ।

मेसीले बार्सिलोनाका लागि ६०० औं गोल गरेका छन्। बलियो टोली लिभरपुलले बार्सिलोनाविरुद्ध पटक–पटक आक्रमण गरेको थियो । तर उसले गोलका लागि गरेका सबै प्रयास असफल भए ।
दोस्रो लेगको खेल मे ८ मा लिभरपुलको घरेलुमैदानमा हुँदैछ । च्याम्यिन लिग सेमीफाइनलको अर्को खेलमा बुधबार डच क्लब आजाक्सले इङ्लिस क्लब टोटनह्याममाथि पहिलो लेगमा १–० को जित निकालेको थियो