
काठमाडौं । हुण्डी कारोबारका फरार अभियुक्त विरगञ्जका सुन व्यापारी सन्तोष जैनका छोरा सौरभ जैन उर्फ राजा १० किलो सुनसहित पक्राउ परेका छन्। भारतको सिलिगुडीबाट जैन शनिबार पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विरगञ्ज–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको बताइएको छ । उक्त परिमाणको सुन नेपालबाट नै भारत पुर्याइएको पनि जनाइएको छ । चालक चौरसियाले गाडीको पछाडिको सिटमा फिटिङ गरी सुन लुकाएको अवस्थामा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अनुसन्धानमा खुलेको पनि बताइएको छ । भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ।
सौरभ विरगञ्जमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन्। ०७३ सालमा जैन निवास वीरगंज–६ रेशमकोठीमा पर्सा प्रहरीले छापामारी गर्दा अवैद्ध रूपमा वित्तीय कारोबार गरेको घटना सार्वजनिक एको थियो। त्यस बेला जैन निवासबाट स्रोत नखुलेको २ करोड ३२ लाख नगद, तथा विभिन्न बैंकको चेक बरामद गरिएको थियो।
प्रहरीले तत्कालीन अवस्थामा सौरभका पिता सन्तोष जैन, आमा उषा जैन र भाई विक्की जैनलाई पक्राउ गरेको थियो। ४ करोड धरौटीमा रिहा भएका जैन परिवारमाथि अहिले पनि मुद्दा विचाराधीन छ। हुन्डी मुद्दामा सौरभ पहिले पनि भारतकै सिलिगुडीमा पक्राउ परी प्रहरीको हिरासतबाट फरार भएका थिए। सौरभ सोहि काण्डका फरार अभियुक्त हुन् ।