एजेन्सी – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ । किंग्स एलाभेन पञ्जावलाई ४५ रनले हराउँदै हैदरावादले प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको हो ।
हारपछि प्लेअफ प्रवेशको पञ्जाबको सम्भावना गणितिय रुपमा मात्र बाँकी रहेको छ । २ सय १३ रनको विशाल चुनौती पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । लोकेश राहुलले ७९, मयाङ्क अग्रवालले २७ र निकोलस पुरनले २१ रन बनाएको पञ्जाबको ईनिङसमा अन्यले ठूलो पारि खेल्न सकेनन् । खलिल अहमद र रासिद खानले पञ्जावको समान ३ तथा सन्दिप शर्माले २ विकेट लिए ।
यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रनको उच्च योगफल तयार पारेको थियो । डेभिड वार्नरले ८१ रन बनाएको हैदरावादका लागि मनिष अग्रवालले ३६ र ऋदिमन शाहले २८ रनको योगदान गरे । महम्मद सामी र रविचन्द्र आश्विनले हैदरावादको समान २ विकेट लिए । १२ खेलबाट ६ जित र ६ हारसँगै १२ अंक जोडेको हैदरावाद तालिकाको चौंथो स्थानमा यथावत रहँदा, समान खेलबाट १० अंक जोडेको पञ्जाब भने १० अंकमा तालिकाको छैटौं स्थानमा रहेको छ ।
आईपीएल क्रिकेटमा आज पुछारका २ टोली रोयल च्यालेन्जर्स बैङलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।