एजेन्सी। सर्पले टोक्यो भने त्यसको उपचार गर्नको लागि सर्प कुन प्रजातिको हो भन्ने जान्नु अति महत्वपूर्ण हुन्छ । सर्पको पहिचान भएमा डाक्टरले सही औषधी प्रयोग गरेर सजिलै उपचार गर्न सक्छन् । तर, भारतको झारखण्डमा भने सर्पले टोकेका एक व्यक्ति हातमा टोक्ने सर्प जिउँदै समातेर अस्पताल पुगेपछि अस्पतालमा भागाभाग भएको छ ।
झारखण्डको जमशेदपुरमा बिरसानगरमा बस्ने बीरे सिंहलाई नजिकैको एक फ्ल्याटमा सर्प देखेपछि बोलाइएको थियो । बीरे त्यहाँ गएर सर्प समात्ने प्रयास गर्दै थिए यत्तिकैमा सर्पले टोक्यो । बीरे सर्प समातेर जंगलमा लगेर छोड्ने सोचाइमा थिए । तर सर्पले टोकेपछि उनी त्यो सर्प समातेरै अस्पताल गए ।
बीरेलाई सर्पले दाहिने हातमा टोकेको थियो । उनले बायाँ हातमा जिउँदै टोक्ने सर्प समातेर अस्पतालमा उपचार गराउन गए । उनको हातमा सर्प देखेर डाक्टर पनि डराए । दाहिने हातमा सर्पले टोकेपछि अस्पताल पुगेका बीरेको उपचारको क्रममा डाक्टरहरु निकै डराइरहेका थिए । डाक्टरले दाहिने हातको उपचार गरिरहे बीरेले बायाँ हातमा सर्प समाइरहे । उपचारपछि डाक्टुले उनलाई घर जान सल्लाह दिए । बीरेले पनि उपचारपछि सर्प जंगलमा छोडेर घर फर्किए ।