काठमाडौं– चैत २७ गते काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा भएको पार्टी कार्यालय भवन शिलान्यास तथा बृहत आमसभा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको प्रमुख अथितित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका बिशिष्ट अथितिका रुपमा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, युवा नेता रामहरि खतिवडा, केन्द्रिय सदस्यहरु प्रदीप पौडेल, युवा नेता तथा समाज सेवी गणेश लामा, शिवप्रसाद हुमाँगाई, मधुप्रसाद आचार्य लगायतका केन्द्रिय नेताहरु सहभागी भएका छन् । कार्यक्रमको आयोजना नेपाली कांग्रेस क्षेत्र नं १ काभ्रेपलाञ्चोकले गरेको पुर्वसासंद तथा युवा नेता तिर्थ लामाले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रममा केपी शर्मा ओलीको कम्युनिस्ट सरकार बनेको आज एक वर्षभन्दा धेरै भइसकेपनि राम्रो काम गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस काभ्रेको क्षेत्र नम्बर १ ले भकुण्डेबेशीमा बुधबार आयोजना गरेको आमसभा तथा पार्टी कार्यालय शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले हरेक क्षेत्रबाट ओली सरकार असफल हुँदै आएको बताए ।
कार्यक्रममा सभापति देउवाले ‘ओली सरकारले एउटा पनि देखाउन लायकको र भन्न सक्ने काम गरेको छैन । ओलीजीले एउटा पनि काम गर्न सकेका छैनन्,’ उनले भने, ‘खाली उखान टुक्काले देश बन्छ ? ओली सरकारमा आउन साथ हत्या, हिंसा बलात्कारका घटना भएका छन् ।’ सभापति देउवाले देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रँदै गएको बताएका छन् ।
नेपाली कांग्रेसको युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसको नेतृत्वमा कसैले गर्न नसकेको कामहरू भएका बताएका छन् । काभ्रेको क्षेत्र नम्बर १ ले बुधबार भकुण्डेवेशीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसको नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनदेखि राणशासन र राजाको अन्त्य भएको बताएका हुन् ।

उनले कार्यक्रममा भने ‘चाहे राणा शासनमा भन्नुहोस्, चाहे राजाको अन्त्य भन्नुहोस्, चाहे माओवादीको १२ वर्षे सशस्त्र युद्ध भन्नुस् । माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएको छ,’ उनले भने, ‘हिजोसम्म बहुदल नमान्ने एमालेहरू आज पार्टी बिलय गरेर कम्यनिस्ट पार्टीको रुपमा आउनुपरेको छ । त्यो कांग्रेसकै कारणले भएको छ ।’
कार्यक्रमलाई बृहत तथा मनोरञ्जनात्मक बनाउन कलाकारहरुको पनि उपस्थीति रहेको थियो । भद्रगोलका पाँडे, काउली बुढी, गायक रोज मोक्तान, लोक गायिका देबी घर्ती मगर लगायतका कलाकारहरुले प्रस्तुती दिएको लामाले बताए ।