काठमाडौं – नेपाली कांग्रेसमा केन्द्रीय समितिपछिको सबैभन्दा शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनका लागि सहमति जुट्न नसकेपछि सभापति शेरबहादुर देउवाले अनौपचारिक छलफलका लागि आफ्नै निवासमा नेताहरुलाई बोलाएका छन् । अहिले केहीबेरपछि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुने भएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिसँगै गठन हुन बाँकी रहेका विभागका विषयमा पनि छलफलका लागि सभापतिले आफ्नै निवासमा बैठक बोलाएको जानकारी दिए । कार्यसम्पादन समितिमा सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको भए पनि तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला भने असन्तुष्ट छन् ।
सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले २ जना सदस्य पाउनुपर्ने अडान राख्दै आएका थिए । तर पौडेलले सिटौलाले आफूलाई महाधिवेशनमा सहयोग नगरेको भन्दै आफ्नो समूहमा नराखेपछि देउवाले नै एकजना सदस्य सिटौलाको गुटबाट राख्ने आश्वासन दिएका थिए ।
तर सिटौलाको असन्तुष्टिका कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित भएको थियो ।