२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सिके राउतको प्रश्न ‘विदेशीलाई भोज खुवाउन केन्द्र सरकार बाधा भएन हुरी पीडितलाई भात खुवाउन केन्द्र बाधा भयो?

729 Shares
Spread the love

काठमाडौं  – जनमत पार्टीका सभापति सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले मुख्यमन्त्री राउतलाई दलित विरोधी र बहानाबाजी भएको लेखेका छन्।

बारा पर्साका हुरी प्रभावितलाई राहत बाँडन् नसकेको भन्दै राउतले प्रदेश सरकारले विगतमा पनि दलित समूदायलाई उपेक्षा गरेको बताएका छन्।

‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेरमा ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन, जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रूपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन,’ राउतले लेखेका छन्,‘तर अहिले भोक/भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०/२० दिन सामूहिक रुपमा मेस सञ्चालन गरेर दाल(भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो? बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने? के प्रदेश सरकार स्वराजीहरूको हत्या गर्न, पक्राउ गर्न र दमन गर्न मात्रै हो?’

उनले अहिलेको प्रदेश सरकारले दलित र मुस्लिमको कोटा खोसेर अरूलाई दिने प्रदेश प्रहरी ऐन ल्याएको, दलितहरू प्रदेश सभा घेराऊ गर्न जाँदा दमन गरेको, दलितलाई अछूत ‘चमार’ भनेर गाली गर्ने र आफैंले लगानी गरेको यज्ञमा दलितलाई भित्र प्रवेश गर्न नदिने यज्ञको उद्घाटन र संरक्षण गर्ने मन्त्री राखेको आरोप लगाएका छन्।

उनले प्रदेश सरकारले जनकपुर क्षेत्रबाट दलित र मुस्लिमलाई डेरा नदिई धपाउँदा धपाउनेहरुलाई संरक्षण दिएको पनि दाबी गरेका छन्।

‘अहिले,बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारिँदा कानमा तेल हालेर सुत्ने यही प्रदेश सरकार। मारिनेको सूची हेरौं। हुरीले बढी पीडित हर्दियाजस्ता दलित बस्तीमा कुनै भीआइपी र राहत पनि पुगेको छैन,’ राउतले लेखेका छन्।

प्रतिक्रिया