काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो २ बजे नेविसंघले निषेधित क्षेत्र तोडेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो । व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ ।
संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार नेविसंघले बृहद प्रदर्शन गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो । कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।
उनिहरुले गंगामाया अधिकारी, डा. गोविन्द के.सी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए ।
सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो । यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।