काठमाडौं – सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्तरुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ ।
सो आयोजनामा स्टेट बैंक इन्डियाले रु ६ हजार ५६० करोड, एभरेस्ट बैंकले रु ८१२.६१ करोड र नबिल बैंकले रु ४८७.५८ करोड लगानी गर्ने भएका छन् ।
लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो ।
सम्झौतामा सतलज विद्युत् निमगका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इन्डियाका असिस्टेन्ट जनरल म्यानेजर सरोती विनोद कुमार, एभरेस्ट बैंकका डीजीएम गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरे ।
कुल ९०० मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ । आयोजनाको कुल लागत रु एक खर्ब १४ अर्ब बराबर रहेको छ ।
लगानी बोर्ड र आयोजनाको प्रवर्द्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा प्रवर्द्धक कम्पनीले संखुवासभामा आयोजना निर्माण गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा गत वैशाखमा सो आयोजनाको शिलान्यास गरेका थिए ।
जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत् निर्माण, स्वामित्व, सन्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइको हो ।
सन्चालनमा आएको २५ वर्षपछि पूर्ण सन्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ ।
आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ ।
आयोजनाबाट नेपालले कुल रु एक खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र रु ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ ।
बोर्डको तथ्यांकअनुसार आयोजनाबाट नेपाललाई कुल रु तीन खर्ब ३८ अर्बभन्दा बढी आर्थिक लाभ हुनेछ ।
विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतलजले यो आयोजना निर्माणको जिम्मा पाएको हो । वित्तीय स्रोत जुटाएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । रासस