काठमाडौं – मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम सुरु भएका छन्।
होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइरहेको छ। नेपालको पूर्वाधार विकासमा कसरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सो क्षेत्रका जानकारले आफ्नो धारणा राख्दै नेपालमा लगानीका लागि तयार रहेको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अध्यक्षता गरेको आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भयो। भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।
मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उनले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए।
छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास सुरु गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले भौतिक पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। रासस