२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

डा गोविन्द केसीको स्वास्थ्य गम्भीर, स्लाइन पनि दिइएन, माग पूरा नभइ केसी काठमाडौं नफर्किने

1731 Shares
Spread the love

जुम्ला। आमरण अनसनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । डा केसीले मंगलबार बिहानदेखि स्लाइन पनि लिन छाडेका छन् । चिकित्सकहरुले उपचार गर्न छाडेपछि डा केसीको स्वास्थ्य अलपत्र परेको हो ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै सरकारविरुद्ध अनशनमा बसेका डा गोविन्द केसीलाई उपचार गर्ने डाक्टरले समेत छोडिदिएपछि उनको स्वास्थ्य अलपत्र परेको हो ।

डा केसीलाई हेर्न भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डा प्रविण गरीले सोमबार साँझैबाट छोडिदिएका थिए । प्रहरी हिरासतमा अनसन सुरु गरेकै दिन डा केसीलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा ल्याएर छोडिदिएको थियो ।

कवर्डहल निकै दुर्गन्धित रहेको र त्यहाँ सामान्य मानिस पनि बस्न नसक्ने अवस्था रहेकाले चिकित्सकको छोलीले त्यत्तिकै छाडेको थियो । त्यहाँ उपचार गर्न सक्ने वातावरण नै नभएर छाडेको डा गिरीले बताएका छन् ।

उनले राम्रो स्थानमा लगेर उपचार गर्न प्रशासनलाई सल्लाह दिए पनि प्रशासनले सुनेन ।

मंगलबार बिहानदेखि स्लाइन पनि लगाइएको छैन 
सोमबार साँझ डा गिरीको टिमले छाडेर गएपछि त्यसयतादेखि डा केसीले स्लाइन पनि लगाएका छैनन् । प्रशासनले त्यही फोहर कवर्डहलमा केसीलाई छाडेपछि त्यहाँ उपचार सम्भव नभएको बताइएको छ ।

धुलो उडिरहेको ठाउँमा स्लाईन दिन कठिन हुनु त छँदैछ डा गिरीले छाडेपछि डा केसीले अर्को कुनै टोलीबाट थप उपचार गराएका छैनन् ।

जुम्ला प्रमुख जिल्ला अधिकारीले पहिले जसरी पनि केसीको सुरक्षा गर्ने भनेर बताउँदै आएका थिए । उनले मंगलबार एक चिकित्सा टोली डा केसीको उपचारका लागि खटाए पनि डा केसीले उनीहरुबाट उपचार गर्न मानेनन् ।

डा केसीलाई स्थानान्तरण गर्नेबारेमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीको बैठक पनि बसेको थियो । तर त्यो बैठकमा भएको निर्णय प्रजिअले बताउन चाहेनन् । डा केसीको अवस्था गम्भीर हुँदा पनि वास्ता कम गएको छ ।

सुरक्षाकर्मीहरुले घेरा दिएर डा केसीलाई हिरासतमै राखेको छ ।

डा केसी प्रति ऐक्यवद्धता 
डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले मंगलबार कर्णाली प्रदेशका अस्पताल बन्द गरेका छन् । नेपाल चिकित्सक संघले अनशनरत डा केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो  ।

उनीहरुले सरकारले आफूहरुका माग नसुनेकाले केसीको जीवन रक्षाको माग गर्दै अकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारेर सडकमा उत्रिएको बताएका हुन् ।

गत शनिबारदेखि अनशनमा रहेका डा केसीलाई कैदी बन्दी सरह कवर्डहलमा राखिएको भन्दै जुम्लाका चिकित्सकहरु कभर्डहल अगाडि धर्नामा उभिएका थिए ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पतालहरुले आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अनिश्चितकालका लागि ठप्प पारेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा प्रविण गिरीले बताए ।

के भन्छन् डा केसी ? 
डा केसीको अडान स्पष्ट छ । माथेमा आयोगले प्रस्तुत गरेको अनुसार नै चिकित्सा शिक्षा अध्यादेश ल्याउन उनको जोड छ । सरकारले तोडमोड गरेर परिमार्जित अध्यादेश ल्याउन खोजेको उनको आरोप छ ।

उनी सर्वसाधारणले पहुँच हुने किसिमको शिक्षा र चिकित्सा सेवाका लागि लडिरहेका छन् । उनले सर्वसुलभ शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि १५ औं पटक आमरण अनसन गरेका हुन् ।

उनी गत शनिबार असार १६ गतेदेखि जुम्लामा आमरण अनसनरत छन् । डा केसीले आफ्ना मागको सम्वोधन नभएसम्म काठमाडौं नफर्कने प्रण पनि गरेका छन् । उनले भने, ‘प्राण जाओस् तर प्रण तोड्दिन ।’

केन्द्र सरकार के खोजिरहेछ ? 
केन्द्र सरकारले डा केसीको आमरण अनसनलाई गम्भीर रुपमा लिएको बताएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीबारे गम्भीर भएकाले तत्काल आमरण अनसन तोडेर वार्तामा आउन आव्हान गरेका छन् । उनको उपचार जुम्लामा हुने सम्भावना कम रहेकाले केसीलाई काठमाडौं ल्याउने पहल भइरहेको पनि पोखरेलले बताएका छन् ।

केन्द्रबाट बुधबार एक चिकित्सकको टोली जुम्ला आउँदैछ । उक्त टोलीले केसीलाई स्थानान्तरण गरी उपचार गर्ने वा काठमाडौं ल्याउने बारे छलफल गर्नेछ । केन्द्र सरकारले डा केसीलाई गलाउन खोजेको देखिन्छ ।

केन्द्रबाट जाने टोलीबाट समेत उपचार नगर्ने अडान डा केसीले लिएका छन् ।

प्रतिक्रिया