२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

डा गोविन्द केसीको स्वास्थ्य गम्भीर, स्लाइन पनि दिइएन, माग पूरा नभइ केसी काठमाडौं नफर्किने

1731 Shares

जुम्ला। आमरण अनसनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । डा केसीले मंगलबार बिहानदेखि स्लाइन पनि लिन छाडेका छन् । चिकित्सकहरुले उपचार गर्न छाडेपछि डा केसीको स्वास्थ्य अलपत्र परेको हो ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै सरकारविरुद्ध अनशनमा बसेका डा गोविन्द केसीलाई उपचार गर्ने डाक्टरले समेत छोडिदिएपछि उनको स्वास्थ्य अलपत्र परेको हो ।

डा केसीलाई हेर्न भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डा प्रविण गरीले सोमबार साँझैबाट छोडिदिएका थिए । प्रहरी हिरासतमा अनसन सुरु गरेकै दिन डा केसीलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा ल्याएर छोडिदिएको थियो ।

कवर्डहल निकै दुर्गन्धित रहेको र त्यहाँ सामान्य मानिस पनि बस्न नसक्ने अवस्था रहेकाले चिकित्सकको छोलीले त्यत्तिकै छाडेको थियो । त्यहाँ उपचार गर्न सक्ने वातावरण नै नभएर छाडेको डा गिरीले बताएका छन् ।

उनले राम्रो स्थानमा लगेर उपचार गर्न प्रशासनलाई सल्लाह दिए पनि प्रशासनले सुनेन ।

मंगलबार बिहानदेखि स्लाइन पनि लगाइएको छैन 
सोमबार साँझ डा गिरीको टिमले छाडेर गएपछि त्यसयतादेखि डा केसीले स्लाइन पनि लगाएका छैनन् । प्रशासनले त्यही फोहर कवर्डहलमा केसीलाई छाडेपछि त्यहाँ उपचार सम्भव नभएको बताइएको छ ।

धुलो उडिरहेको ठाउँमा स्लाईन दिन कठिन हुनु त छँदैछ डा गिरीले छाडेपछि डा केसीले अर्को कुनै टोलीबाट थप उपचार गराएका छैनन् ।

जुम्ला प्रमुख जिल्ला अधिकारीले पहिले जसरी पनि केसीको सुरक्षा गर्ने भनेर बताउँदै आएका थिए । उनले मंगलबार एक चिकित्सा टोली डा केसीको उपचारका लागि खटाए पनि डा केसीले उनीहरुबाट उपचार गर्न मानेनन् ।

डा केसीलाई स्थानान्तरण गर्नेबारेमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीको बैठक पनि बसेको थियो । तर त्यो बैठकमा भएको निर्णय प्रजिअले बताउन चाहेनन् । डा केसीको अवस्था गम्भीर हुँदा पनि वास्ता कम गएको छ ।

सुरक्षाकर्मीहरुले घेरा दिएर डा केसीलाई हिरासतमै राखेको छ ।

डा केसी प्रति ऐक्यवद्धता 
डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले मंगलबार कर्णाली प्रदेशका अस्पताल बन्द गरेका छन् । नेपाल चिकित्सक संघले अनशनरत डा केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो  ।

उनीहरुले सरकारले आफूहरुका माग नसुनेकाले केसीको जीवन रक्षाको माग गर्दै अकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारेर सडकमा उत्रिएको बताएका हुन् ।

गत शनिबारदेखि अनशनमा रहेका डा केसीलाई कैदी बन्दी सरह कवर्डहलमा राखिएको भन्दै जुम्लाका चिकित्सकहरु कभर्डहल अगाडि धर्नामा उभिएका थिए ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पतालहरुले आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अनिश्चितकालका लागि ठप्प पारेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा प्रविण गिरीले बताए ।

के भन्छन् डा केसी ? 
डा केसीको अडान स्पष्ट छ । माथेमा आयोगले प्रस्तुत गरेको अनुसार नै चिकित्सा शिक्षा अध्यादेश ल्याउन उनको जोड छ । सरकारले तोडमोड गरेर परिमार्जित अध्यादेश ल्याउन खोजेको उनको आरोप छ ।

उनी सर्वसाधारणले पहुँच हुने किसिमको शिक्षा र चिकित्सा सेवाका लागि लडिरहेका छन् । उनले सर्वसुलभ शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि १५ औं पटक आमरण अनसन गरेका हुन् ।

उनी गत शनिबार असार १६ गतेदेखि जुम्लामा आमरण अनसनरत छन् । डा केसीले आफ्ना मागको सम्वोधन नभएसम्म काठमाडौं नफर्कने प्रण पनि गरेका छन् । उनले भने, ‘प्राण जाओस् तर प्रण तोड्दिन ।’

केन्द्र सरकार के खोजिरहेछ ? 
केन्द्र सरकारले डा केसीको आमरण अनसनलाई गम्भीर रुपमा लिएको बताएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीबारे गम्भीर भएकाले तत्काल आमरण अनसन तोडेर वार्तामा आउन आव्हान गरेका छन् । उनको उपचार जुम्लामा हुने सम्भावना कम रहेकाले केसीलाई काठमाडौं ल्याउने पहल भइरहेको पनि पोखरेलले बताएका छन् ।

केन्द्रबाट बुधबार एक चिकित्सकको टोली जुम्ला आउँदैछ । उक्त टोलीले केसीलाई स्थानान्तरण गरी उपचार गर्ने वा काठमाडौं ल्याउने बारे छलफल गर्नेछ । केन्द्र सरकारले डा केसीलाई गलाउन खोजेको देखिन्छ ।

केन्द्रबाट जाने टोलीबाट समेत उपचार नगर्ने अडान डा केसीले लिएका छन् ।

प्रतिक्रिया