काठमाडौंमा आफ्नो सुरक्षामा खतरा उत्पन्न भएको भनेर जनताबाट निर्वाचित एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थर्रथर्र कामिरहँदा जनकपुरमा भिडको बीचबाट पूर्वराजा ज्ञानेन्द्रले ‘आफू जनताबीचमै सुरक्षित छु’ भन्ने सन्देश दिन खोजे । प्रचण्डको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या ५९ पुर्याइएको छ । पूर्वराजालाई भने सेनाको सुरक्षा खोसेर सरकारले धेरै अघि नै सशस्त्रको जिम्मा लगाएको छ ।
राजाको एक झलक पाउँदा मात्रै पनि अहोभाग्य ठानिने देशमा आज तिनै ‘राजा’ जनताको भिडमा निष्फिक्री हिँडिरहेका छन् । जनताबाटै निर्वाचित भएका प्रचण्ड आज खुलेआम हिँड्न पनि डराउनु पर्ने अवस्थामा पुगेका छन् । जनताकै छोरी, निर्वाचित नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारी हिँड्ने बाटोमा त अरु ‘प्रजा’ निषेधित सरह छन् ।
बेलायत, नर्वे, स्विट्जरल्याण्ड, बेल्जियमलगायत युरोपका देशमा राजसंस्था अझै छ । त्यहाँका राजकुमारहरुले सडकमा साइकल चलाइरहेको भिडियो देख्न पाइन्छ । क्यानडा, अष्ट्रेलियाका प्रधानमन्त्रीले मेट्रोमा यात्रा गरेको, जनतासँग सेल्फीलिँदै गरेको दृश्यले एकसाथ धेरै सन्देश प्रवाह गर्छ ।
निर्वाचनको बेला जनताको घरदैलोमा पुग्ने, गाई दुहुने, खेतमा धान काट्ने, जनतासँगै बसेर खाना खानेहरुले सिंहदरबारको टिकट पाउनेबित्तिकै तिनीहरु अलौकिक हुन पुग्छन् । उनीहरुका बोली ‘महावाणी’, उनीहरु हिँडेको ‘सवारी’, उनीहरुको पिकनिक पनि ‘औपचारिक भ्रमण’ हुन पुग्छ । प्रजाले खाने भात हुन्छ, उनीहरुको ‘भुजा’ बन्न पुग्छ । जनताले खाने ‘बिस्कुट’ उनीहरुले खाने ‘बिस्किट’ वा ‘कुकिज’ बन्न पुग्छ ।
गोल्डस्टार जुत्ता लगाएर पाइन्टको पछाडिको गोजीमा दाँत माज्ने ब्रस बोकेर हिँडेकाहरुलाई आज पुराना श्री ३ का खलकसँग वैवाहिक सम्बन्ध गाँस्न पाउँदा आफूलाई अरु रैती भन्दा उन्नत ठान्ने अवस्था सिर्जना भएको छ । सिंहदरबारको टिकट र जनताको ठेकेदारीले गलेको काँधको उपचार सिंगापुर, थाइल्याण्ड र अमेरिकामा हुने गर्छ । जाजरकोटमा सिटामोल नपाएर जनता मर्छन्, नेताका बानी नपरेको टाउको पजेरो र टोयटामा फिट गरिएको एअर कन्डिसनको हावाले दुख्छ ।
‘शोकलाई शक्तिमा बदल्ने’ बानी रुपान्तरित भएर अहिले ‘शौखलाई शौकतमा रुपान्तरण’ गर्नुपर्छ भन्ने मान्यता विकास भएको छ । रामायणका मुख्य खलनायक रावणले रामसँग पराजित हुनुपर्ने कुनै कारण थिएन । मृत्युअघि रावणले रामलाई आफू पराजित हुनुको कारण सोध्छ । रामले ‘अहंकारीलाई कुनै शस्त्रले मार्नै पर्दैन, ऊ भित्रको अहंकारले नै उसलाई समाप्त पार्छ’ भन्छन् । सुनको लंका, प्राइभेट विमान, सुरा र सुन्दरी वा आणविक हतियार के थिएन र रावणसँग ? अल्वर्ट आइन्स्टाइन जस्ता भाई कुम्भकर्ण (कुम्भकर्णलाई रामायणकालका महान वैज्ञानिक पनि मानिन्छ), इन्द्र जित्ने छोरा मेघनाद थिए रावणसँग । हाम्रा देवकोटा जत्ति कै प्रतिभाशाली रावण आफैं थियो । कला, साहित्य, संगीतमा रावण पारंगत थियो । तर अर्काकी श्रीमतीमा आँखा लगाउँदा रावणको सर्वनाश भयो । उसको अहंकार र दूराचारले उनकै भाई तथा कुलद्रोही विभिषणले राज्य पाए ।
कमल थापाको अर्तीबुद्धिमा लाग्दा राजा ज्ञानेन्दको गद्दी गयो । आज राजा ज्ञानेन्द्र जनताको बीचमा छन् भने जनताका नेता हुँ भन्नेहरु सुरक्षाकर्मीको घेरामा बसेर ‘मलाई मारेर के पाउँछौं ? गणतन्त्र जोगिन्छ ?’ भन्दै मनभित्रको ‘टेरर’लाई राजनीतिसँग जोडिरहेका छन् ।
जनयुद्धकालमा तोर्पे र काइते कुरालाई पनि पुष्टि गर्नु पर्यो भने त्यो विषयको अगाडि ‘वैज्ञानिक’ भन्ने शब्द जोडे पुग्थ्यो । यतिबेला केपी ओलीको र प्रचण्डको आलोचकहरुलाई ‘गणतन्त्रविरोधी’को ट्याग लाग्छ । इसाईहरुले पानी छम्केर हिन्दु, मुसलमानजति सबैलाई इसाईधर्मावलम्वी बनाउँछन् ।
यसैगरी पानी छम्केको भरमा इसाई भएको एउटाले शुक्रबारको दिन कुखुरालाई पनि पानी छम्केर साग बनाएछ, अनि पकाएर खाएछ । जनताको भिडमा रहेका पूर्वराजा देख्दा पक्कै पनि त्यो गणतन्त्रविरोधी भिड नै मानिन्छ । वर्तमान व्यवस्थाप्रतिको जनताको असन्तुष्टि किमार्थ वर्तमान सत्ताले मान्दैन । हिजोसम्म राजाको पाउमा आफ्नो भाग्य देख्नेहरु अहिले ‘पानी छम्केका’ गणतन्त्रवादी भएका छन् ।
मदन भण्डारीको दुर्घटनामा अमर लामाको संलग्नता पुष्टि हुने कुनै प्रमाण भेटिएन । तिनै अमर लामालाई माओवादीले नै सिध्याए । अमर लामा सम्भवतः होलसेलका शहीद होलान् यो देशका । अरिंगाल शब्द हालै आयो । तर अरिंगाले प्रवृत्ति पुरानै हो । त्यो अरिंगाले प्रवृत्तिले अमर लामालाई मदन भण्डारीको हत्यारकै कोटीमा राखिदियो । पूर्वराजा ज्ञानेन्द्रलाई उनकै दाजुको वंश नाशकको रुपमा अथ्र्यायो ।
देख्नेजति सबैले हत्याकाण्ड दीपेन्द्रले मच्चाए भन्छन् । सुन्नेलाई त्यो पत्यार लाग्दैन । हत्याकाण्डको वास्तविक छानविन र साँचो कुरा जनताले पत्याउने तवरले बाहिर आइदिएको भए कुरा अर्कैै हुन सक्थ्यो । तर दरबारका चाटुकारहरुले ज्ञानेन्द्रलाई ‘सरकार सदगद, काजकिरिया फटाफट सक्नु पर्छ । मामिला सल्टाएर शासन चलाइ हाल्नुपर्छ’ भनेर सुझाए । ‘हो मा हो ’ मिलाउँदा राजसंस्था ‘गो मा गो’ भयो । न अमर लामाको घटनामा संलग्नता पुष्टि भयो, न राजा ज्ञानेन्द्रको घटनामा संलग्नता पुष्टि भएको छ । दरबार हत्याकाण्डको फेरि छानविन गर्छु भन्थे प्रचण्डले, १७ हजारको छानविन भयो भने चाहिँ के गर्ने रु भन्ने प्रश्नले उनलाई रसातलमा पुर्याइदियो ।
–ध्रुव रिजाल/नेपाल आज