एजेन्सी- जिनेदिन जिदानलाई प्रशिक्षकमा पुनः नियुक्ति गर्न सफल रियल म्याड्रिडले आगामी सिजन पीएसजीका स्टार खेलाडी नेइमार र केलियन एमबाप्पेलाई पनि टोलीमा अनुबन्ध गर्ने खुलासा गरेको छ ।
रियलले सोमबार राति मात्र पूर्वप्रशिक्षक जिदानलाई १० महिनापछि टोलीमा भित्र्याएर अर्को सिजनको तयारी सुरु गरेको छ । जिदानेको आगमनसँगै रियलले अब कस्ता खेलाडी अनुबन्ध गर्ला भन्ने चर्चासँगै चुलिएको छ । जिदानलाई क्लबको नयाँ प्रशिक्षक घोषणा गर्ने कार्यक्रममा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेलाई रियलले ल्याउन प्रयास गर्ने संकेत गरेका छन् । पेरेजले सम्बोधनमा ठट्टा गर्दै जिदान फ्रेन्चका भएकाले एमबाप्पेलाई ल्याउन सजिलो हुने बताए ।
२० बर्षीय एमबाप्पेले फ्रान्सलाई रुस विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । एमबाप्पेले अहिले फ्रेन्च लिग वानको शीर्ष टोली पीएसजीमा राम्रोसँग जमिरहेका छन् । उनले यस सिजन ३३ खेलमा २९ गोल समेत गरेका छन् ।
रियलको नजरमा अहिले नेइमार पनि परेका छन् । आगामी सिजन नेइमारलाई जिदानेले टोलीमा राख्न सक्ने अनुमान गरिएको छ । नेइमार पीएसजीमा आएदेखि त्यति खुसी नरहेको समाचार पटक–पटक बाहिरिरहेको छ ।
खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार आगामी सिजनमा रियल म्याड्रिड जाने सम्भावना छ । रियलका अध्यक्ष पेरेजले रियललाई लयमा फर्काउन नयाँ स्टार खेलाडी राख्ने बताएका छन् । उनले एमबाप्पे र नेमारमध्ये कसलाई ल्याउने भन्ने प्रश्नमा दुवैलाई ल्याउने जवाफ पनि दिएका छन् ।
आगामी सिजन रियलले त्यही योजना अगाडी बढाउने बताइएको छ । एमबाप्पे र नेइमारसँगै रियलको निसानामा चेल्सीका इडेन हजार्ड समेत परेका छन् । नयाँ स्टारले रियलमा प्रवेश पाउँदा ग्यारेथ बेल र करिम बेन्जामा जस्ता खेलाडीलाई पन्छाउने चुनौती पनि रियललाई उत्तिकै छ ।