काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार स्पीनर सन्दीप लामिछाने मंगलबार पाकिस्तानबाट स्वेदश फर्किने भएका छन् । पाकिस्तान सुपर लीग (पीएसएल) क्रिकेट खेल्न पाकिस्तान पुगेका सन्दीप लीगको समूह चरणको खेल सोमबार सकिएपछि मंगलबार स्वदेश फर्कन लागेका हुन् ।
उनी मंगलबार दिउँसो सवा तीन बजे कतार एयरवेजको विमानबाट काठमाडौं पुग्ने नेपाली क्रिकेट टीमका टेक्निकल एनालिटिक्स रमण सिवाकोटीले जानकारी दिएका छन् ।
सोमबार सन्दीपले पीएसएलमा समूह चरणको अन्तिम खेल खेलेका थिए । उनी आवद्ध लाहोर क्लान्दर प्लेअफमा पुग्न नसकेपछि सन्दीप मंगलबारै स्वदेश फर्कन लागेका हुन् ।
सन्दीपले पीएसएलको आफ्नो पहिलो सीजनमा ७ खेल खेले । उनले ७ खेलमा ११ विकेट लिँदै व्यक्तिगत रुपमा पीएसएलको पहिलो सीजन सफलतापूर्वक टुंग्याएका छन् ।
पीएसएलको डेब्यु खेलमा ३ विकेट लिएका सन्दीपले आफ्ना ७ खेल मध्ये एक खेलमा म्यान अफ द म्याचसमेत भएका थिए । उनले सोमबार अन्तिम खेलमा भने सम्झन लायक पदर्शन गर्न सकेनन् । उनले सोमबार मुल्तान सुल्तानविरुद्ध २ ओभर ३ बल बलिंग गर्दा २८ रन दिन पुगेका थिए ।
सोमबारको खेलमा सुल्तानले लाहोरलाई ७ विकेटले पराजित गरेको थियो । पहिला ब्याटिंग गरेको लाहोरले ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।
१४१ रनको लक्ष्य सुल्तानले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेपछि लाहोर अन्तिम खेलमा पनि पराजित हुन पुग्यो । लाहोरले आफ्ना १० खेलमा ३ खेलमात्र जित्न सकेपछि अंक तालिकाको अन्तिममा रहँदै प्रतियोगिता टुंग्यायो ।
सन्दीपले लाहोरका शुरुआती दुई खेल भने खेलेका थिएनन् । उनी अष्ट्रेलियाको बीग बाश लीगमा खेलिरहेकाले पीएसएलका पहिलो ३ खेल गुमाएका थिए। त्यसपछि सबै खेलमा खेलेका उनी टीम सफल नभए पनि आफ्नो प्रभाव भने छाड्न सफल भए ।
अब सन्दीप भारतमा आगामी महिना शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) खेल्न भारततर्फ लाग्नेछन् ।
आईपीएलमा उनको यो दोस्रो सीजन हो । उनी आईपीएलमा पहिलो सीजन दिल्ली डेयरडेभियल्सबाट खेलेका थिए । दिल्लीका लागि अन्तिम ३ खेल खेलेका उनले त्यसमा आफुलाई सफल बनाएका थिए ।
त्यसपछि दिल्लीले उनलाई दोस्रो सीजनका लागि पनि अनुबन्धन जारी राखेको थियो । सन्दीप आवद्ध दिल्लीले यो पटक आफ्नो नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको छ ।