२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

रोनाल्डोले स्वीकार गरे २ वर्षको जेल सजाय, सवा २ अर्ब जरिवाना समेत तिर्नुपर्ने

1918 Shares

एजेन्सी। स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दामा स्पेनका अधिकारीहरुसँग सम्झौता गरेका छन् । उनीमाथि २ करोड १८ लाख डलर (झण्डै सवा २ अर्ब नेपाली रुपैयाँ) बराबर जरिवाना लगाइएको छ । यसका साथै उनले २ वर्षको जेल सजाय पनि स्वीकार गरेका छन् ।

यद्यपि उनलाई जेल जाने आवश्यकता भने पर्ने छैन किनकि स्पेनको कानुनअनुसार पहिलो पटक २ वर्ष वा सोभन्दा कम सजाय पाउने व्यक्तिले जेल नगइ जाँचको दायरामा (प्रोबेशनमा) पनि सजाय काट्न सक्छ । गतवर्ष स्पेनका ट्याक्स अधिकारीहरुले रोनाल्डोमाथि १ करोड ७३ लाख डलर  कर छली गरेको आरोप लगाएका थिए । अधिकारीहरुका अनुसार रोनाल्डोले २०११ देखि २०१४ सम्म रियल मड्रिडको तर्फबाट खेल्दा जानीजानी आफ्नो आयस्रोत लुकाएका थिए । उनीविरुद्ध कर छलीका ४ मुद्दा दर्ता गरिएका थिए ।

स्पेनकै अर्को क्लव बार्सिलोनाबाट खेल्ने अर्का स्टार फुटबलर लियोनेल मेस्सीलाई पनि २०१६ मा ४७ लाख डलर कर छली गरेको आरोपमा दोषी पाइएको थियो । यसका लागि उनलाई २१ महिनाको सजाय सुनाइएको थियो । यद्यपि गत वर्ष अदालतले मेस्सीलाई जेल सजायको सट्टा २ करोड डलर जरिवाना मात्र गरेर छोडिदिएका थियो ।

प्रतिक्रिया