भारतीय च्यानलमा प्रसारण हुने विभिन्न चर्चि रियालिटी शोहरुमा धेरै नेपालीहरुले लोभलाग्दो सफलता र चर्चा कमाईसकेका छन् र कमाई पनि रहेका छन् । भर्खरै मात्र डान्स प्लसको उपविजेता बनेर सुजन मार्फा तामाङ फर्किसकेका छन् भने केही समय अगाडीमात्र सारेगमपमा पनि आफनो चमत्कारी आवाजबाट मेनुका पौडेलले सबैको मन जितिसकेकीछिन् । यसैबीच जि टिभीबाट प्रसारण भईरहेको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका दुई बालकहरुले धमाका गरिरहेका छन् ।
आफनो उत्कृष्ट प्रस्तुती दिँदै इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा पर्न सफल भईसकेका छन् । यी दुबै जना कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘सुरशाला जुनियर आइडल’ सहभागीता जनाएर चर्चा कमाईसकेका छन् । उनीहरु युट्युवमा पनि निकै भाईरल बनेका हस्तीहरु हुन् । प्रितमको एपिसोड गएको शनिबार प्रसारण भईसकेको छ जसबाट उनले खुबै प्रशंसा पाए । जज तथा जुरीहरुले उनको प्रस्तुतीको खुबै प्रशंसा गरेका थिए ।
सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् । उता सुरशाला आइडलका बिजेता समेत रहेका आयुषले पनि आफनो प्रस्तुतीबाट जज तथा जुरीहरुको मन जितेका छन् । भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । सारेगमपमा उनी पनि ढाका टोपी लगाएर नेपालको राष्ट्रिय झण्डा बोकेर पुगेका थिए ।

केही गीतसमेत रेकर्ड गरिसकेका आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य समेत हुन् भने प्रितम पनि अमृतकै शिष्य हुन। प्रितम र आयुषले मेघा अडिसनमा दिएको प्रस्तुती भने प्रसारण हुन बाँकी छ । प्रितम र आयुषले यति सानो उमेरमा नेपालको प्रतिनिधित्व गर्दे बिदेशी च्यानलमा नेपाल र नेपालीहरुको नाम राखिराख्दा सबै नेपालीहरुले उनीहरुप्रति गर्व महसुस गरिरहेका छन् ।

