बिबिसी । सुदूरपश्चिमका युवा रवि ओडले ‘नेपाल आइडल’को उपाधि जितेको केही दिनपछि उनकी कान्छी आमा विष्णादेवीको कञ्चनपुर चौराहस्थित घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर ज्यान गयो।
शोकमा डुबेका रवि ओड मन बलियो बनाएर साङ्गीतिक कार्यक्रमका लागि विदेश यात्रामा छन्। रवि ओड शोकमै भएपनि ‘मुटुमाथि ढुङ्गा राखी’ उनी परदेश गएका नेपालीहरूलाई मनोरञ्जन दिन व्यस्त छन्।
तर ओड परिवारले भोगेको शोक आलै छ। भारतको मुम्बईमा चौकिदारी गर्ने उनका बुवा कञ्चनपुर फर्किएका छन्। रवि ओडका भाइ जिगर ओडले बीबीसीसँग भने, “हाम्रो ठूलो क्षति भयो। ममी गुमाएको त्यो क्षण हामी बिर्सन चाहन्छौँ, तर बिर्सिन सकिरहेका छैनौँ।”
एकाबिहानै करेन्ट लागेर अचेत विष्णादेवी ओडको अस्पताल लैजाने क्रममा ज्यान गयो।
त्यसको एक महिनापछि गत साता जनवरी २५ को साँझपख धनुषाको सवैलामा जन्ती चढेको बसमा लत्रिएको बिजुलीको तारबाट करेन्ट प्रवाह हुँदा ६ जनाको ज्यान गयो।
सिन्धुलीको दुधौली नगरपालिका, जितपुरका रामबाबु अधिकारी, ४५, जन्ती बसमा करेन्ट प्रवाह हुने बित्तिकै “सबैलाई बसबाट ओराल्न व्यस्त थिए”। त्यस्तो सहयोगी स्वभावका मूली गुमाएपछि अधिकारी परिवार अहिले असह्य पीडामा छ। बुधवार उनको १३ दिनको किरिया कर्म पूरा हुँदैछ।
बीबीसीसँगको संक्षिप्त कुराकानीमा उनकी पत्नी धर्मशिला अधिकारीले टेलिफोनमा भनिन्, “कसको कमजोरीले उहाँको ज्यान गयो? म केही भन्न सक्दिन। तर दुई छोरा र एक छोरीलाई अब म एक्लैले कसरी हुर्काउने होला?”
त्यसको जवाफ सहज छैन। तर प्रश्न उठ्न सक्छ: कसको कमजोरीले त्यो जन्ती बसमा विद्युतको झट्का लाग्न पुग्यो र विवाह उत्सव मनाएर फर्किएका ६ जनाको ज्यान जाने गरी त्यत्रो ठूलो दुर्घटना भयो? के स्थानीय गाउँ वा नगरपालिकाको कमजोरी थियो त्यहाँ? कि नेपाल विद्युत प्राधिकरणकै लापर्बाही थियो? वा चालकको हेलचक्य्राइँले त्यो दुर्घटना भयो?

दुधौली नगरपालिका ९ का वडाअध्यक्ष रामकुमार अधिकारी भन्छन्, “बसमा करेन्ट लाग्ने बित्तिकै चालक भागेका छन्। बाँचेका जन्तीहरूका अनुसार उनले रक्सी खाएका थिए र लापर्बाही गरेर बस चलाइरहेका थिए।”
त्यो विवरण स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
अब रवि ओडको कञ्चनपुरस्थित घरको चर्चा गरौँ।
रवि ओडका भाइ जिगर ओडका अनुसार घरमा पानी तान्ने मोटरमा जोडिएका तारमा टेपहरू लगाइएको थियो। सम्भवत: “चिसो हातले त्यो तार छुँदा ममी (आमा) लाई करेन्ट लाग्यो र उहाँ ढल्नु भयो,” जिगर ओडले बीबीसीसँग भने।
कौतूहल हुन सक्छ, नेपालमा करेन्ट लागेर कतिले ज्यान गुमाउँछन्?
विद्युतीकरणको क्रम बढेसँगै करेन्ट लागेर धनजनको क्षति हुने क्रम पनि बढिरहेको छ।
नेपाल प्रहरीका अनुसार २०७५ साउनदेखि माघ १५ गतेसम्मको अवधिमा नेपालका विभिन्न स्थानमा विद्युतसँग जोडिएका ५१८ वटा दुर्घटनामा २८९ जनाको ज्यान गइसकेको छ भने २९७ जना घाइते भएका छन्।
गएको आर्थिक वर्षमा त्यस्ता ५२० दुर्घटनामा ३२१ जनाको ज्यान गएको थियो भने २६० जना घाइते भएका थिए।
विद्युत दुर्घटनाका कारण आगलागी र त्यसक्रममा ठूलो आर्थिक क्षति पनि हुने गरेको छ। त्यस्तो क्षतिको कथा अर्कै छ।
तर विद्युत दुर्घटनाको क्रम रोकिने कुनै लक्षण छैन। किनभने विद्युत दुर्घटनाको जोखिम घटाउन कुनै सुरक्षा अभियान थालिएको छैन।
तर विद्युत प्राधिकरणका अधिकारी भन्छन् “जनचेतनाको अभाव र अव्यवस्थित सहरीकरणका कारण” देशैभरि प्राय: सबै स्थानमा विद्युत दुर्घटनाको खतरा जस्ताको तस्तै छ।
विद्युत दुर्घटनाको उच्च जोखिम कहाँ कहाँ छ?
नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरूका अनुसार विद्युत दुर्घटनाको सबैभन्दा बढी जोखिम राजधानी काठमाण्डूमै छ।
करिब आधा करोड जनसंख्या रहेको राजधानी उपत्यकामा “अव्यवस्थित सहरीकरण र अनियन्त्रित तार विस्तारका कारण अनौठा अनौठा विद्युत दुर्घटनाका घटना बाहिर आउन थालेका छन्,” प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्।
“कहिले त केबल टीभीको तारमा मोटरसाइकल अल्झिँदा बिजुलीको पोल ढलेर मानिसको मृत्यु भएको खबर आउँछ।”

अर्को धेरै जोखिमयुक्त क्षेत्र प्रदेश २ को जनकपुर क्षेत्रमा रहेको प्राधिकरणको भनाइ छ। अधिकारी भन्छन्, “त्यस क्षेत्रमा विद्युत चोरीका घटना अन्यत्रभन्दा बढी रहेको छ। जनचेतनाको अभाव छ। त्यसैले पनि धनुषाको सवैलामा जन्ती बस दुर्घटनामा पर्ने अवस्था आएको हो।”
ती स्थानका अतिरिक्त अव्यवस्थित बस्ती विकास भइरहेका देशका अन्य स्थानमा पनि विद्युत दुर्घटनाका जोखिम रहन सक्ने विद्युत प्राधिकरणका अधिकारीहरू बताउँछन्।
विद्युत प्राविधिकहरूका अनुसार नेपालमा करेन्ट लाग्ने वा विद्युत दुर्घटना हुने मुख्य कारण यी हुन्:
जानकारहरू भन्छन् विद्युत दुर्घटनाको खतरा हरेक घर-घर र हरेक टोल छिमेकमा हुन सक्छ।
घरमा नाङ्गो तार वा टुपिन वा थ्रिपिन, प्लग, स्विच जीर्ण अवस्थामा छन् भने विद्युतीय दुर्घटनाको खतरा त्यहीँबाट सुरु हुन्छ।
त्यसबाट खासगरी केटाकेटी वा वृद्धवृद्धालाई टाढै राख्नु पर्छ।
कञ्चनपुरका रवि ओडका भाइ जिगर ओडको भनाइमा उनको परिवारले भोगेको पीडाबाट सबैले पाठ सिक्न सक्छन्, “आफ्नो घरमा नाङ्गा तार छन् भने तिनको मर्मत गरी सुरक्षित बनाइहाल्नु पर्छ। नत्र हाम्रो घरको जस्तो दुर्घटना अन्त पनि दोहोरिन सक्छ।”
बसले नाङ्गो तार छोएको धनुषाको सवैलामा भएको जस्तो दुर्घटना हुन नदिन सामुदायिक स्तरमा पनि सचेतना आवश्यक हुने प्राविधिकहरू बताउँछन्। “त्यस्तो दुर्घटना हुन नदिने सबैभन्दा उत्तम उपाय सडक र तारको दूरी तोकिएको मापदण्ड भित्रै कायम गर्नु हो,” प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्।
अर्को उपाय नाङ्गा तारहरूलाई विद्युत प्रवाह नहुने गरी रबरले ढाक्नु हो।
प्रश्न उठ्न सक्छ प्राधिकरणले चाहिँ के गर्दैछ?
नेपाल विद्युत प्राधिकरणका अनुसार त्यो दिशामा काम सुरु भइसकेको छ। अधिकारीका अनुसार विद्युत चोरी हुने र त्यसैकारण दुर्घटना बढी हुने गरेका तराईका जिल्लाहरूमा रबरले बेरिएको तार विस्तार गर्ने काम अघि बढिरहेको छ।
अझै उत्तम उपाय हुन सक्छ तारलाई लठ्ठामा अड्याएर गाउँ सहरको सौन्दर्य बिगार्दै जथाभाबी विस्तार गर्नु भन्दा जमीनमुनिबाट भूमिगतरूपमा प्रसारण लाइन विस्तार गर्नु। विकसित देशका सहरहरूमा बिजुलीको तारलाई त्यसैगरी भूमिगत बनाइएको हुन्छ।
नेपालको सगरमाथा क्षेत्रको खुम्बुका गाउँहरूमा पनि गाउँको सौन्दर्यमा कुनै आँच आउन नदिने गरी बिजुलीका तारहरूलाई सुरक्षित रूपमा भूमिगत लाइनबाट घरघरमा पुर्याइएको छ।
प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, “हामीले राजधानी काठमाण्डूको रत्नपार्कदेखि महाराजगञ्जसम्म नमुना आयोजनाका रूपमा (९० हजार उपभोक्ता परिवारका लागि) तारलाई जमीनमुनि बिछ्याउनका लागि बोलपत्र आह्वान गरिसकेका छौँ।”