२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा

2673 Shares
Spread the love

माघ १८ ।सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो  । यो समाचार आजको नेपाल समाचार पत्रमा  छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले करिब ५ वर्षअघि सर्वोच्चमा मुद्दा परेको जानकारी दिनुभयो। स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिब एक वर्षअघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा त्रिविलाई उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्यान्वयन भने भएको छैन। उपकुलपति प्राडा खनियाँले शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने स्पष्ट पार्नुभयो। महानगरपालिकाका मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आउनुभएको बताइन्छ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गत चैतमा फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेपछि महानगरले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो। गत भदौमा सम्पन्न कृषि तथा वन विश्वविद्यालयको सिनेट बैठकमा उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविको नामको उक्त ३ सय ५६ बिगाहा जग्गा विश्वविद्यालय मातहतमा ल्याउन प्रस्ताव गर्नुभएको थियो तर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि सो प्रस्ताव खारेज भएको थियो।त्यसपछि नेकपाका अध्यक्ष एवं मेयर रेणुका बुबा पुष्पकमल दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनलाई जग्गा प्रदान गर्न ल्याएको प्रस्ताव स्विकार्न त्रिविका उपकुलपतिलाई आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया