काठमाडौं, १७ माघ । नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय टि २० मा अर्धशतक बनाउने कम उमेरका खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा कम उमेरमा अन्तराष्ट्रिय क्रिकेटको टि –२० संस्करणमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको उल्लेख गरेको छ ।
आइसिसीले सामाजिक संजाल ट्विटरमा यस्तो जानकारी दिएको हो । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अन्तराष्ट्रिय अर्धशतक प्रहार गरेका हुन् । युएई र नेपालबीच युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा आज सम्पन्न खेलमा सन्दीपले अविजित रहँदै ४६ बलमा ५३ रन बनाए ।
नेपाल यो खेलमा जीत निकाल्न भने चुक्यो ।
यूएईविरुद्धको टी–ट्वान्टी क्रिकेट श्रृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको छ । १५४ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रनमात्रै बनाउन सक्यो ।
आजको खेलमा ५० रन पनि नजोड्दै कप्तान पारस खड्कासहित ४ ब्याट्सम्यान आउट भए । पारस खड्का २५ रन जोडेर आउट भएको पारीमा प्रदीप ऐरी गोल्डेन डकआउट भए ।
ज्ञानेन्द्र मल्लले ७ तथा दीपेन्द्र सिंह ऐरीले ४ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली युएइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।