माघ १७ -अनसनरत डा गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले भोलि शुक्रबार सबै स्वास्थ्य सेवा ठप्प पार्ने भएको छ । डा केसीको माग सम्बोधन गर्न भन्दै सघंले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको हो । डा केसीको समर्थनमा निजी तथा सरकारी दुबै स्वास्थ्य संस्थामा सेवा बन्द गर्ने निर्णय भएको हो ।
संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
२३ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य जटिल भइसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै दबाबस्वरुप आन्दोलनमा घोषणा गरेको हो । विज्ञप्तीमा डा केसीको जीवन रक्षा र माग सम्बोधनका लागि कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले पूर्ण रुपमा कार्यन्वयन गर्न अपिल संघले गरेको छ ।यसअघि नै डा केसीको माग अनुसार चिकित्सा विधेयकमा संशोधन गर्न माग गर्दे रिले अनसन सुरु गरेको थियो ।