काठमाडौं। पछिल्लो समयमा कर्णाली भेगतिर नौलो उत्पादनको रुपमा हेरिएको चिज हो खरायोको कपालबाट बनेको टोपी। त्यो टोपी व्यवसायिक रुपले जुम्लामा उत्पादन सुरु गरिएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाका अन्र्तगत साविकको तलिम गाविसमा ८/१० जना युवाहरुको टोलीले खरायोको कपालबाट टोपी बुन्न सुरु गरेका छन्। एउटा टोपी तयार गर्न लामो समय लाग्ने हुँदा मासिक रुपमा थोरै मात्र उत्पादन गर्न सकिने खरायो टोपी व्यवसायी कालिमान विष्टले बताए।
‘केही समयदेखि गाउँमै व्यवसाय गर्न सुरु गरिएको टोपी उत्पादनलाई देशव्यापी बजारीकरण गर्न मुख्य मुख्य सहरहरुमा पठाउने गरेका छौं।’ विष्टले भने, ‘काठमाडौं, नेपालगञ्ज, बुटवल, विराटनगरका केही पसलहरुमा बिक्री तथा प्रचारका लागि राख्ने गरेका छौं।’
‘पछिल्लो समयमा खरायोको कपालबाट बनेका टोपीहरुको सोखिन मान्नेहरु बढेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, भीम रावललगायतका नेताहरुले खरायोको कपालबाट बनेका टोपीहरु लगाउँदै आएका छन्।’ काठमाडौंमा खरायोको कपालबाट बनेका टोपीहरुको बिक्रेता डिके स्टेप इन फेसन वर्ल्डका प्रवन्धक निर्देशक दिनेश बहादुर खड्काले भने, ‘यो टोपीको महत्व धेरै छ। महत्व बुझेकाहरुले यसको प्रयोग बढी गर्छन्।’
‘गर्मी याममा शीतल दिने र जाडोमा पनि कपाललाई न्यानो बनाउने यो टोपीको प्रमुख विशेषता हो।’ काठमाडौंका व्यापारी खड्काले भने, ‘खरायोको कपाल अन्य कपाल भन्दा धेरै नै नरम हुन्छ।’
विदेशीलाई लोभ्याउनका लागि बनाइएका खरायोका कपालबाट बनेका टोपी पछिल्लो समय हुने खाने तथा उच्च पदस्थका कर्मचारी तथा नेताहरुले बढी जसो प्रयोग गर्दै आएको खड्काले बताए।
जुम्लामा खरिद गर्दा यो टोपीको मूल्य ३५ सयदेखि ४ हजारसम्म पर्छ। सोही टोपी काठमाडौंमा पुग्दा ४५ सयदेखि ५ हजारसम्म बिक्री हुने गरेको अर्का व्यापारी दल बहादुर खड्काले बताए।
उनले भने, ‘यो टोपी बनाउँदाको मेहनत अनुसार बजारले पनि मेहनतको दाम दिने गरेको छ। एउटै टोपी बुन्न मात्रै ३ भन्दा बढी खरायोको कपाल जम्मा गर्नुपर्छ।’
खरायोको कपालको टोपी बनाउने तरिका
यो टोपी बनाउन सुरुमा खरायोहरुको कपाल जम्मा गर्नुपर्छ। जम्मा गरेको कपाल २ दिनसम्म घाममा सुकाउनु पर्छ। त्यसपछि त्यो कपाललाई कात्दै डोरी बनाउनु पर्छ।
एकपटक कातेको डोरीलाई फेरि कात्नु पर्छ। दोश्रो पटक कातेको डोरी एकदम मसिनो हुन्छ। जसले गर्दा टोपी सिउन सजिलो हुन्छ। त्यसपछि टोपीका लागि सिल्लीले सिउनुपर्छ।
अन्य कपडा बुन्नका लागि चानमा बुनिन्छ। चानमा बुन्नु भनेको ठूलो कपडाका लागि हो। साथै सिल्लीले सिउनु भन्दा छिटो हुने व्यवसायी विष्टले बताए।
‘टोपी, मफलर, हातमा लगाउने पञ्जा, मोजा जस्ता कपडा सिल्लीले सिलाइन्छ भने अन्य ठूलो कपडाहरु भने चानमा बुन्ने गरिन्छ। खरायोको कपालबाट भने हालसम्म टोपी मात्र बनाएका छौं। भेडा, च्याङ्ग्रालगायतको कपालबाट भने सबै खाले कपडाहरु पनि बन्ने गरेको व्यवसायी दल बहादुर खड्काले बताए।