काठमाडौं । सरकारले भनेजुयलामा देखिएको राजनीतिक संकटबारे नेपालको आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त सकंटको समाधान बाह्य हस्तक्षेपविना हुनुपर्ने बताएको छ ।
कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
केहि दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै अमेरिकाको दादागिरीको विरोध जनाएका थिए। प्रचण्डले जारी गरेको प्रेश वक्तव्यपछि अमेरिकाले नेपालको सरकरको आधिकारीक धारणा माग गरेको थियो।
भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै प्रचण्डले वक्तव्य जारी गरेपछि अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको थियो ।
सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न माग गरेको थियो । सरकारको धारणा के हो भन्ने जान्नका लागि अमेरिकी राजदूतावासले एक पत्र नेपाल सरकारलाई पठाएको थियो।
प्रचण्डले गत शुक्रबार भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए। भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई ‘साम्राज्यवादी कु’ गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए।
भेनेजुएलामा के भइरहेको छ ?
भेनेजुएलामा दलहरूबीच आन्तरिक कलह जारी छ। भेनेजुएलामा लामो समय शासन गरेका कम्युनिस्ट नेता ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा देशको राष्ट्रपति बनेका निकोलस मडुरोको शासनसत्ता विवादमा पर्दै आएको छ।
त्यहाँका विपक्षीहरू आन्दोलित हुँदै आएका छन्। गत बुधवार भेनेजुएलाका विपक्षी नेता तथा त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष हुवान गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
लगत्तै अमेरिकाले गुएइदोलाई राष्ट्रपतिको मान्यता दिएको थियो। आर्थिक र कूटनीतिक सहयोग दिने ट्रम्पले घोषणा गरेका थिए।
सात महिनाअघि निकोलस मडुरो पुनस् राष्ट्रपति बनेका थिए। तर चुनावपछि विपक्षीहरू झन भ्डकिएका छन्। अन्तर्राष्ट्रिय समुदायले पनि चुनावको निष्पक्षतामाथि प्रश्न उठाएका थिए।
भेनेजुएलामा बिहानबेलुकाको छाक टार्न गाह्रो भएको र अत्यावश्यक औषधिहरू अभाव भएका विवरणहरू सार्वजनिक हुँदै आएका छन्।
चाभेज र उनका उत्तराधिकारी निकोलस मडुरोलाई त्यहाँको एउटा ठूलो समूहले निरङ्कुश भन्ने आरोप लगाउँदै आएको छ।
भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुवान गुएइदोले गत बुधबावार एउटा सार्वजनिक समारोहमा आफूलाई राष्ट्रपति घोषित गरेका थिए।
लगत्तै संयुक्त राज्य अमेरिकाले गुएइदोलाई समर्थन गरेको थियो।तर कम्युनिस्ट मुलुकहरू चीन, क्युबा वा उत्तर कोरियाको प्रतिक्रिया आएको छैन।